काँग्रेस एमालेको साझा अवधारणामा दलित मोर्चाको असहमति

कात्तिक २५, काठमाडौँ-नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले संविधान लेखनका विषयमा नेपाली काँग्रेस र नेकपा एमालले सार्वजनिक गरेको साझा अवधारणा समानुपातिक–समावेशीको सिद्धान्त विपरीत रहेको भन्दै आफ्नो असहमति जनाएको छ । मोर्चाका अध्यक्ष तिलक परियारले आज जारी गर्नुभएको विज्ञप्तिमा विघटित संविधानसभाले गरेका जनपक्षीय व्यवस्था र अन्तरिम संविधानको धारा २१ ले प्रत्याभूत गरेको दलितको अधिकारसमेत खोस्ने गरी साझा अवधारणा आएको उल्लेख छ ।

राज्यले ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिसहित सम्मानजनक पूर्ण समानुपातिक प्रतिनिधित्व नीति, विधि र ऐनकानुन निर्माण गर्ने थलोमा पहँुच सुनिश्चितता र राज्यसत्ताका सम्पूर्ण अङ्ग, निकाय र क्षेत्रमा विशेषाधिकारसहितको सहभागिताबिना दलित समुदाय अन्य समुदायसरह माथि उठाउन सम्भव नभएको विज्ञप्तिमा उल्लेख गरिएको  छ । राज्यका सबै क्षेत्रमा दलित समुदायको विशेषाधिकारसहितको सहभागिताको सुनिश्चितताका लागि सबै दलितले आन्दोलन अगाडि बढाउन आवश्यक रहेकामा मोर्चाले जोड दिएको छ ।