गणेशमान सिंहको ९९औं जन्मजयन्ती मनाइँदै

कात्तिक २४, काठमाडौं-विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको आज ९९औं जन्मजयन्ती मनाइँदैछ । वि।सं। १९७२ साल कार्तिक २४ गते जन्मिनु भएका सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका स्मरणीय व्यक्तित्वका रूपमा चिनिनु हुन्छ ।

नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्यायका रूपमा रहेका सिंहको २०५४ साल आश्विन २ गते निधन भएको थियो ।  सिंह नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै कठोर संघर्ष गर्ने नेता हुन । उहाँलाइ लौहपुरुषका नामले समेत चिन्ने गरिन्छ ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नु भएका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा विपिको साथमा हुनुहुन्थ्यो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्नका लागी सिंहले बारम्बार घच्घचाउनु हुन्थ्यो । सिंहले आफ्नै दल नेपाली कांग्रेसले पनि सम्मान नगरेपछि विरक्तिएर आफैंले स्थापना गरी हुर्काएको पार्टीलाइ परित्याग गरेको घोषणा गर्नु भएको थियो ।