‘आलोक तिमी भ्रममा पर्‍यौ ‘ : आचार्य प्रभा

‘आलोक’ तिमी

उज्यालो प्रकाशको पर्याय,

यो कस्तो अनौठो परिदृश्य छाडेर

संसारलाई अँध्यारो

निष्पट अन्धकारमा धकेली

बिलिन् भयौ?

कसरी मान्यो हँ !!!

तिम्रो त्यो कोमल मुटु

पत्थरमा अनुवाद हुन?

तिमीलाई लाग्थ्यो र !

मेरो भौतिक शरीर गएपनि

मेरा सृजनाका मोतीहरू

मसँगै बिलाउँछन् भनेर?

अँह….., यो हुनै सक्दैन आलोक,

हुनै सक्दैन यो |

आलोक तिमीले यो गल्ती गर्यौ

अनि………….,

तिम्रो सोंच ज्यादै निरीह बन्यो

तिमी अन्यायको प्रतीमूर्ति बन्यौ

जस्ले हज्जारौं मनहरुलाई

छिया,छिया बनायो |

तिमी नै उज्यालो आभा

भन त ..!

कसरी रुचायौ अन्धकारको

भयावह सन्नाटा ?

फेरि तिमी..,

सृजनशील मन आफै थियौ

कसरी रोज्यौ निष्कृयताको गोरेटो ?

होईन…..अँह………… हुँदै होईन,

आलोक अझै तिमी भ्रममा छौ

म बिलाएँ भनेर

अनि अझै तिमी अन्योलमै छौ

म अस्ताएँ भनेर

उ पर क्षितिजमा……..

तिमी त रंगीन बनेर

आफ्नो आलोक छर्दै मुस्काई रहेछौ

हामीसँग जिस्किँदै

र……………………,

तिम्रै सृजनाका फूलहरुसँग

लुकामारी खेल्दै,

आलोक तिमी भ्रममै छौ अझै !!!