कलाकार भन्छन्- नेताहरु, संविधान बनाऊ

कार्तिक २१ काठमाडौं- अभिनेत्री मिथिला शर्मालाई समयमै संविधान बन्नेमा शंका छ। समयमै संविधान नबन्ने अवस्था देखा परेकोमा उनी चिन्तित पनि छिन्। आफ्नोतर्फबाट उनले हरसम्भव संविधान बनोस् भन्ने कामना गरिरहेकी छन्। उनी भन्छिन्, ‘कलाकार पनि देशका नागरिक हुन्, हाम्रो पीडा अरू नागरिकको भन्दा फरक छैन।’ विभिन्‍न अवसरमा आयोजना हुने कार्यक्रममा मिथिलाले संविधान बनाउन दबाबमूलक आवाज उठाएकी छन्। ‘ठूलो मान्छेले सबैले देख्ने गरी हामीलाई झुक्याइरहेका छन्’, उनी भन्छिन्।
कलाकार विजय लामा अलि रुष्ट देखिन्छन् नेताहरूसँग। ‘नेताहरूलाई दबाब नपुगेको हो’, उनी भन्छन्, ‘सबै जनताले आफ्नो जात, धर्म, पार्टी त्यागेर सात दिन सात रात संविधानसभा भवनमा नेतालाई घेर्नुपर्छ र संविधान नबनाएसम्म छोड्नु हुँदैन।’
विजय हरेक बिहान संविधान बन्छ भन्‍ने सकारात्मक सोचसहित उठ्छन्। तर, नेताहरूको स्वार्थीपन देख्दा उनको विश्वास डगमगाएको छ। उनको विचारमा संविधान बनाउन अब पार्टी होइन, विशेषज्ञ चाहिएको छ।
अभिनेत्री करिश्मा मानन्धर कलाकार एकजुट भएर संविधानका लागि दबाब दिए आफू त्यसमा अग्रपंक्तिमा उत्रन तयार रहेको बताउँछिन्। तर, अहिले उनलाई संविधानको कुरा सुन्दा पनि विरक्त लाग्छ। ‘हामीले यो अन्तिम अवस्थामा आएर दबाबका बारेमा सोच्नु परेको छ’, उनी भन्छिन्, ‘संविधान बन्न नसक्दा विश्वमाझ हामी लाजमर्दो अवस्थामा छौं।’ काम गर्न तोकिएका नेताहरू संवेदनशील नभएको देख्दा उनलाई संविधान बन्ला भन्ने विश्वास कम छ।
संगीतकार सुरेश अधिकारीलाई संविधान बनाउन दबाब दिन अब कलाकारले सक्छन्जस्तो लाग्दैन। उनी भन्छन्, ‘कलाकारले निदाएकालाई ब्यूँझाउने हो तर यहाँ त नेताहरू निदाएको नाटक गरिरहेका छन्, उनीहरूलाई कसरी ब्यूँझाउने?’
संविधानसभामा कलाकारको सहभागिता कम भएको गुनासो अझैसम्म पनि बाँकी छ। सबैको दबाब एकातिर चर्किएको छ अनि नेताको आफ्नै डम्फु अर्कातिर बजिरहेको छ। उनलाई लाग्छ, नेपालमा राष्ट्रियताभन्दा अन्तर्राष्ट्रिय स्वार्थ बढी महत्त्वपूर्ण मानिन्छ। यो चाला देख्दा संविधान बन्ला भन्नेमा उनको विश्वास झिनो अवस्थामा पुगेको छ। उनी भन्छन्, ‘नेताहरूले सक्ने भए त अस्ति नै बनाउने थिए तर अब विश्वास निकै कम भएको छ।’
संविधान बनाउने समय तीन महिनामात्र बाँकी छ। दलहरूबीच सहमति हुने झिनो आशा पनि देखिँदैन। देशका हरेक नागरिकजस्तै कलाकारको पनि यसमा चासो छ। संविधान बन्ने मिति नजिकिँदै गर्दा उनीहरूमा पनि संविधान बन्ने नबन्नेबारे उत्तिकै चिन्ता छ।
संविधानका लागि गीत बने, सडकमा नाटक देखाइए तर नेताहरूले संविधान बनाउने चटारोमा गीत सुन्ने र नाटक हेर्ने फुर्सदै पाएका छैनन्। त्यसैले होला, संविधानको भन्दा स्वार्थको बोली बलियो बन्छ संविधानसभाभित्र।
भर्खरैमात्र संविधानसभाका सभामुख सुवास नेम्बाङले लोकनाथ सापकोटाको गीत ‘बनाऊ संविधान’ विमोचन गरेका छन्। तर, यो गीतको आवाज संविधानसभाभित्र कत्तिको पुग्ने हो, यो समयले बताउनेछ।