अपर माइको ७५ प्रतिशत निर्माण पुरा

कार्तिक २१, इलाम-इलामको माबु गाविसमा निर्माणाधिन अपर माइ हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको निर्माण ७५ प्रतिशत पुरा भएको प्रवद्र्धक संस्था माइभ्याली हाइड्रोपावर कम्पनीले जनाएको छ । आयोजनामा रहेको सुरुङ दुइ हजार दुइ सय २२ मिटर छेड्ने कार्य सम्पन्न भइ अन्तिम ढलान भइरहेको प्रोजेक्टका प्रशासकिय अधिकृत प्रेम गुरुङले जानकारी दिनुभयो । नविल बैंक मुख्य लगानी कर्ता रहेको उक्त आयोजना अन्तर्गत पावर हाउस सम्म पुग्ने पेन स्टक पाइप जडान भइरहेको र इलेक्ट्रिो मेकानिकल कार्य शुरु भएको समेत कम्पनीले जनाएको छ । एक अर्व ६४ करोड लागतमा निर्माण भइरहेको उक्त आयोजना आगामी चैत्र मसान्त सम्म निर्माण पुरा भइ विद्युत उत्पादन हुने भएको छ ।

माबु क्षेत्रमा जलविद्युत आयोजना निर्माण कार्य सुरु भएपछि स्थानीय क्षेत्रका करिव सय बढीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । आयोजनाले उक्त क्षेत्रमा पुग्ने सडक मर्मत र लघु जलविद्युतमा समेत लगानी गरेको छ । यस्तै स्थास्थ्य चौकी र वातावरणीय क्षेत्रमा सघाउ पुगेको गाविस सचिव याम बहादुर बस्नेतले बताउनुभयो ।

नौ दशमलव ९८ मेगावाट क्षमताको उक्त आयोजना निर्माण सँगै कम्पनीले उक्त आयोजनाकै क्याक्केटको रुपमा ६ दशमलव एक मेगावाट क्षमताको अर्को आयोजना शुरु गरेको छ ।