चिकित्‍साका नूतन

कात्तिक २०, काठमाडौँ-अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट हस्पिटलमा मृत व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सफल भएपछि नेपाली डाक्‍टर कुमुदकुमार धितालको चर्चा शिखरमा पुगिरहेका बेला अमेरिकाको इन्डियाना युनिर्भसिटी स्कुल अफ मेडिसिनअन्तर्गतको डिपार्टमेन्ट अफ पेडियाट्रिक्समा कार्यरत असिस्टेन रिसर्चर प्रोफेसर डा.नूतन प्रसाईंले चिकित्सा विज्ञानमा अर्को एउटा नयाँ उपलब्धि हासिल गरेका छन्।
प्रसाईं नेतृत्वको टोलीले गरेको अनुसन्धानबाट मानव शरीरलाई आवश्यक पर्ने नयाँ रक्तनली उत्पादन गर्न सकिने उपचार प्रविधि (स्टेम सेल बेस्डथेरापी) को विकास गर्न सकिने तथ्य फेला परेको छ। उनीहरूले निकै लामो समय लगाएर गरेको अनुसन्धानले सो कुराको पुष्टि गरेको हो।
जसबाट विभिन्‍न कारणले मानव शरीरमा कमजोर बनेका र नष्ट भएका रक्तनलीको पुनर्निर्माण गर्न सकिने छ। यो उपचार पद्धतिबाट मुटुसम्बन्धी समस्या भएका हजारौं बिरामीलाई बचाउनुका साथै अंगछेदन र अन्धोपना हुनबाट समेत रोक्न सकिने डा. प्रसाईं बताउँछन्।
स्टेम सेल बेस्डथेरापीबाट विशेषगरी खुट्टामा रक्तनलीको विकास गरी रक्त प्रवाह बढाउन सकिनेछ। चिकित्सकका अनुसार खुट्टामा हुने रक्तनलीमा बोसोजस्तो पदार्थ अनावश्यक जम्मा हुन गई रक्त प्रवाहमा अवरोध आउँदा खुट्टा निदाउने र दुख्‍ने समस्या देखिन्छ।
लामो समय रक्त प्रवाहमा अवरोध भएमा खुट्टा सुक्दै जाने र अन्त्यमा खुट्टा काट्नुपर्ने अवस्थासमेत आउन सक्छ। सो समस्याका कारण मानिसमा हृदयाघात, मस्तिष्कघात हुने सम्भावना पनि तीन गुणा बढी हुने गर्छ। प्रसाईंले भने, ‘नसा, अल्जाइमरलगायतका बिरामीका लागि यो थेरापी प्रभावकारी हुन सक्छ।’
डाक्‍टरका अनुसार उमेर बढ्दै जाँदा धेरैजसो मानिसको शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम हुँदै जाँदा रक्त प्रवाहमा आफै कमी आउने गर्छ भने अत्यधिक धूमपान गरेमा वा मधुमेह भएमा युवा उमेरमै पनि यस्तो समस्या आउन सक्छ।
रक्त प्रवाहमा लामो समय अवरोध आएमा फोक्सो, मुटु, आँखालगायत मानिसका संवेदनशील अंगहरूमा क्षतिसमेत पुग्ने र ज्यान गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ। यस्तै हृदयाघात, मस्तिष्कघातलगायतका जटिल समस्या पनि देखिन सक्छ। यस्ता समस्याबाट बच्नका लागि उक्त थेरापीको सहयोग लिन सकिन्छ।
विराटचोकका बालक 
मोरङको विराटचोकमा जन्मिएका प्रसाईं बाल्यकालदेखि नै अध्ययनमा प्रतिभाशाली थिए। स्थानीय सुकुना सेकेन्डरी विद्यालयमा प्रवेशिका परीक्षा उत्तीर्ण पछि उनले विराट साइन्स क्याम्पसमा आईएस्सी पूरा गरेपछि भारतको राजीव गान्धी युनिर्भसिटी अफ हेल्थ साइन्समा फर्मासियुटिकल्स साइन्समा अन्डर ग्राजुएट गरे।
बायोमिडिसिन र टेक्नोलोजीको क्षेत्रमा केही नयाँ काम गर्नुपर्छ भन्‍ने सोच सानै उमेरदेखि बनाएका प्रसाईंले त्यसपछि नेपाल फर्किएर काम गर्न चाहेका थिए तर अभिभावकको अनुरोध र यहाँ काम गर्ने अनुकूल वातावरण नदेखेपछि उनी भविष्यको खोजी गर्दै अमेरिका पुगे।
नेपाली डाक्‍टर नूतन प्रसाई नेतृत्‍वको टोलीले शरीरलाई आवश्‍यक पर्ने नयाँ रक्तनली उत्‍पादन गर्न सकिने उपचार प्रविधि विकास गर्न सकिने तथ्‍य फेला पारेको छ। जसबाट कमजोर र नष्‍ट भएका रक्तनलीको पुननिर्माण गर्न सकिने छ। यो उपचार पद्धतिबाट मुटुका हजारौ  बिरामीलाई बचाउनुका साथै अंगछेदन र अन्‍धोपना हुनबाट समेत रोक्‍न सकिन्‍ट।  
त्यहाँ उनले युनिर्भसिटी अफ साउथ अलाबामामा बाइलोजीमा स्नातकोत्तर गरे र बायोमेडिकल साइन्सेसमा विद्यावारिधिको सोध गर्नका लागि उनले अमेरिकन हर्ट एसोसिएसनबाट रक्तनलीसम्बन्धी छात्रवृत्ति प्राप्त गरेका थिए। त्यसपछि उनलाई यस क्षेत्रमा नयाँ काम गर्ने प्रेरणा मिल्दै गयो र सन् २००९ पछि इन्डियाना युनिर्भसिटीमा काम गर्ने मौका पाए।
काममा मेहनत गर्दै जाँदा थुप्रै नयाँ अनुसन्धान नजिकबाट हेर्ने मौका उनलाई जुरेको थियो। अन्तत: उनकै अगुवाइमा भएको अनुसन्धानमा खटिएको टोलीले मानव शरीरलाई अत्यन्तै आवश्यक पर्ने रक्तनली विकास गर्न सकिने सिद्ध गरेको छ।
प्रसाईंलाई विशेषगरी बुवा र काकाको प्रेरणाले बायोटेक्नोलोजीको क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको थियो। उनले भने,’शरीरमा रक्तनलीको विकास कसरी हुन्छ भन्‍ने जान्‍ने मन मलाई सानैदेखि थियो, त्यही भएर मैले यो विषय नै रोजेर अध्ययन गरे, यो क्षेत्रमा अझै धेरै काम गर्न मन छ मलाई।’
नेपालको आवश्यकता 
पछिल्लो समय कार्डियो भास्कुलर डिजिज, मधुमेहजस्ता रोगबाट मानिसको ज्यान क्रम नेपालमा पनि बढ्दै गएको छ। डा. प्रसाईंले विकास गरेको उपचार प्रविधि यहाँ विस्तार गर्न सकिएमा धेरै बिरामीको अकालमा ज्यान जानबाट बचाउन बचाउन सकिन्छ।
जुन बिरामीको रक्तनली कमजोर वा नष्ट भएको छ त्यस्ता व्यक्तिमा यो प्रविधिबाट नयाँ रक्तनली विकास गर्न सकिन्छ। अन्धोपन र अंगछेदन हुनबाट समेत मानिसलाई यसले बचाउँछ।
यो प्रविधिलाई सहीरूपमा विकास र विस्तार गर्न सकेमा भविष्यमा औषधिकै काम गर्नेमा आफूहरू विश्वस्त रहेको डा. प्रसाईंले बताए। भौगोलिक र प्राकृतिक विविधताले भरिएको नेपाल र काठमाडौंजस्तो सहरमा यो प्रविधिको विकास गरी यो ठाउँलाई बायोटेक्नोलोजीको हब बनाउन सकिने र जरुरीसमेत भएको प्रसाईंको भनाइ छ। तर यसका लागि युवा जमात नै देखिएका चुनौतीको सामना गर्ने अठोट लिएर अगाडि बढ्नुको विकल्प नभएको प्रसाईं बताउँछन्।