दम्पतीले सँगै खोलामा हाम फाले, श्रीमतीको मृत्यु , श्रीमान् घाइते

कात्तिक २०, विराटनगर-मोरङमा एक दम्पती खोलामा हामफालेर आत्महत्याको प्रयास गर्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर भएका छन् ।
बयरबन–८ बस्ने ५६ वर्षीय बमबहादुर पौडेल र श्रीमती ५० वर्षीया गुञ्जमायाले बयरवन–७ स्थित भलुवा खोलाको पुलबाट मंगलबार साँझ ७.३० बजे हामफालेका हुन् ।
स्थानीयले देखेपछि उनीहरूलाई खोलाबाट उद्धार गरेको थियो । गुञ्जमायाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो भने गम्भीर अवस्थामा रहेका बमबहादुरको पथरी अस्पतालमा उपचार भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको  छ।
साडीको पासो लगाएर आत्महत्या 
कञ्चनपुरको झलारी–२ सिमलफाँटाकी २३ वर्षीया माया सेरालाले घरभित्रै झुन्डिएर आज आत्महत्या गरेकी छन् । घरको माथिल्लो तलाको दलानमा साडीले पासो लगाई आत्महत्या गरेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले बताए।
आत्महत्या गरेकी महिलाको श्रीमान् विदेशमा रोजगारीका लागि गएको र घरमा सासू र  बुहारी मात्रै रहेको उहाँले बताउनुभयो । आत्महत्या गरेकी महिलाका दुई वर्षको छोरा र तीन वर्षकी छोरीसमेत रहेका छन् । शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाने तयारी भइरहेको छ। रासस