पोखरामा डेढ दर्जन प्याराग्लाइडिङ कम्पनी थपिँदै

कात्तिक २०, काठमाडौँ-पोखरा-पोखरामा डेढ दर्जन प्याराग्लाइडिङ कम्पनी थपिने भएका छन्। प्याराग्लाइडिङ गर्ने पर्यटक बढ्दै गएपछि व्यवसायीले हवाई खेलकुद क्षेत्रमा लगानी बढाएका हुन्। पोखरामा अहिले २० वटा यस्ता कम्पनी सञ्चालनमा छन्। नयाँ थपिएपछि तीन दर्जन नाघ्ने छ। पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार १८ वटा नयाँ कम्पनीको लाइसेन्स प्रक्रिया अघि बढेको छ।

गत भदौ १२ गतेभित्र प्याराग्लाइडिङ उडानका लागि अनुमति पाउने कम्पनीले स्वीकृति पाउने सम्भावना रहेको उनले बताए। त्यस अवधिभित्र आवेदन दिएका कम्पनीबारे भने उनले खुलाएनन्। ‘अनुमति माग्ने धेरै छन्। तर सम्भाव्यता हेरेर दिने हो। प्रक्रिया पुर्याभएका छन्, छैनन् त्यो पनि हेर्नुपर्योा,’ उनले भने, ‘अहिलेसम्म १८ वटाको लगभग टुंगो लागेको छ। मूल्यांकनबाट पास भए अझै थपिने छन्।’अनुमति पाउन लागेका कम्पनीले केही महिनाभित्रै उडान गर्न सक्ने गरी स्वीकृति दिने उनले बताए। अहिलेसम्म प्याराग्लाइडिङ गराइरहेको सराङकोटको आकाशबाहेक अन्य क्षेत्रलाई आधार मानेर उडान गर्न तयार भए कम्पनी बढ्न सक्ने आचार्यले बताए। ‘सराङकोटमा भीड बढेकोले अब त्यहाँबाट उड्ने गरी कम्पनी थपिँदैनन्,’ उनले भने, ‘अब अनुमति पाउने सबै कम्पनी सराङकोटबाहिर उड्नुपर्छ।’

मन्त्रालयले सराङकोटनजिकैको तोरीपानी र मान्द्रेढुंगाबाट उडान गर्नका लागि नयाँ कम्पनीलाई स्वीकृति दिने तयारी गरेको छ। सराङकोटबाट १५ मिनेट दुरीमा तोरीपानी र त्यहाँबाट थप १५ मिनेट दुरीमा मान्द्रेढुंगा पर्छ। तोरीपानी र मान्द्रेढुंगाबाट उडान गर्ने कम्पनीले चंखपुर र पामे क्षेत्रमा अवतरण गर्नुपर्नेछ। सराङकोटबाट उडान गरेका प्याराग्लाइडिङले हाल खपौदी क्षेत्रमा अवतरण गरिरहेका छन्। प्याराग्लाइडिङ कम्पनी सञ्चालन गर्दा एक करोड रुपैयाँ चुक्ता पँुजी हुनु पर्छ। उक्त पुँजीबाट चारवटा ग्लाइडर राखेर उडान गर्न सकिने प्रावधान छ। ‘कम्तीमा एक करोड रुपैयाँ पुँजी अनिवार्य छ। त्यो हिसाबले पनि १८ करोड रुपैयाँ लगानी थप हुने निश्चित भएको छ,’ आचार्यले भने, ‘कम्पनी थपिए लगानी पनि यही दरमा बढ्नेछ।’नागरिक दैनिकमा खबर  छ ।

नेपाल हवाई खेलकुद संस्थाका महासचिव बसन्तराज दवाडीले प्याराग्लाइडिङ क्षेत्रमा लगानी थपिए पनि उडान गर्ने ठाउँ साँघुरो हुँदा समस्या बढ्दै गएको बताए। ‘तोरीपानी र मान्द्रेढुंगा सराङकोटबाट धेरै टाढाका दुरी होइनन्। त्यसैले जहाँबाट उडान गरे पनि पोखराको दृश्यावलोकनका लागि पर्यटकले सराङकोटको आकाश खोज्छन्,’ उनले भने, ‘त्यो बेला भीड बढेर समस्या हुने देखिन्छ।’ एकैपटक धेरै कम्पनी थपिँदा पोखराको आकाश झनै साँघुरो हुने उनले बताए। पोखराभन्दा अलि टाढाको दुरीमा मात्र उडान गर्न दिनुपर्नेमा सराङकोट नजिकै दिँदा समस्या हुनसक्ने उनले बताए। सडकसँग नजिक, भौगोलिक अवस्था र हिमाली दृष्यावलोकनले गर्दा पर्यटकको रोजाइको आकाश सराङकोट हुने दवाडी बताउँछन्।