६५ किलो चरेससहित पक्राउ

कात्तिक २०,वीरगञ्ज– नारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले बुधबार ६५ किलो चरेससहित एक जनालाई पक्राउ गरको छ। २२ वर्षीय विकासकुमार वर्णवाललाई वीरगन्ज–१३ आदर्शनगरस्थित उनकै डेराबाट चरेससहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अनुराग द्विवेदीले बताए।
सई अरुण कुशवाह नेतृत्वको टोलीले, चारकुने आकारको पोकामा प्लास्टिकभित्र बेरिएका ६० ढिक्का चरेस बरामद गरेको हो। चरेससँगै प्रहरीले ना१४प ९०८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। ‘सुराकीमार्फत त्यो जानकारी हामीकहाँ आयो, त्यसपछि अञ्चल प्रहरीले आफ्ना स्रोत परिचालन गर्दा ठाउँ किटान भयो,’ कुशवाहले भने, ‘प्रहरी टोली लिएर पुग्दा वर्णवाल एउटा झोला लिएर घरबाट निस्किँदै थिए, ५ किलो चरेस झोलामा थियोे, घरभित्र खोज्दै जाँदा थप ६० किलो चरेश फेला पर्‍यो।’
प्रहरीका अनुसार वर्णवालको घरमा गहुँ राख्ने ड्रममा चरेस फेला परेको थियो। कपडाको बाकसमा समेत केही ढिक्का चरेस भेटिएको सई कुशवाहले बताए। चरेस रक्सौलका मुमताज भन्ने व्यक्तिको भएको र आफूले त्यसलाई घरभित्र राख्ने काम मात्र गरेको वर्णबालले जनाएका छन्। बिहारको पूर्वी चम्पारण, रामगढवा घर भएर वीरगन्ज–१३ बाट नेपाली नागरिकता लिएका वर्णवालको परिवार लागूऔषध कारोबारमा संलग्न रहेको पृष्ठभूमि देखिएको प्रहरीले जनाएको छ।काठमाडौँ  नागरिक दैनिकमा खबर  छ ।