युवा क्रिकेट टोली कुवेततिर

कात्तिक १९, काठमाडौँ-एसिसी यु–१९ प्रिमियर क्रिकेट खेल्न नेपाली टोली मंगलबार राती कुवेत लागेको छ। राजु रिजालको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली दुबई हुँदैं बुधबार कुवेत सिटी पुग्ने छ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष श्रीनिवास राणलेले कुवेत जाने टोलीलाई विदाई गरे। मन्त्री पौडेलले विजेता भएर आए नेपाली टोलीलाई सम्मान गर्न कुनै कन्जुसाइ नगर्ने बताए।
‘राष्ट्रिय टोलीले विश्व क्रिकेट लिग डिभिजन ३ जितेपछि सकरात्मक प्रभाव पारेको छ, यसले यु–१९ टोलीलाई पनि प्रेरणा हुने विश्वास मैले लिएको छु,’ पौडेलले भने, ‘विजयी भएर विश्वकपमा पुगे सरकारले सम्मान गर्नेछ।’
नेपालले नोभेम्बर ७ मा मलेसियासँग खेलेपछि ९ तारिखमा साउदी अरेबिया, १० तारिखमा कुवेत, १२ तारिखमा युएई तथा १४ तारिखमा अफगानिस्तानसँग खेल्नेछ। राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि विजेता घोषणा हुनेछ। यसअघि एसिसी यु–१९ कप, एसिसी यु–१९ कप इलिटको नामले आयोजित यो प्रतियोगिता चारपटक जित्दै नेपालले कुल ६ पटक आइसिसी यु–१९ विश्वकप खेलिसकेको छ।
विजेताले बंगलादेशमा २०१६ मा हुने आइसिसी यु–१९ विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछ। त्यस्तै फाइनल पुग्ने टोली आइसिसी यु–१९ विश्वकप प्लेअफमा छानिने छ।
क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले भनिन्, ‘राष्ट्रिय टोलीका खेलाडीका लागि विकासे कार्यक्रमहरु ल्याउदै छौं, यु–१९ का लागि त्यस्तै कार्यक्रम ल्याउन हामीले सरकारबाट सहयोगको अपेक्षा गरेका छौं।’
नेपाली यु–१९ टोलीः राजु रिजाल (कप्तान), आरिफ शेख उपकप्तान, इर्शाद अहमद, आशिष धामी, शंकर राना, प्रेम तामाङ, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की, सुशील कँडेल, सुनील धमला, दिपेश श्रेष्ठ, दीपेन्द्र ऐरी,अर्जुन चापागाईं, नवीन सिंह (प्रशिक्षक), धीरेन्द्र साउद (व्यवस्थापक) र श्रील भगत (फिजियोथेरापिस्ट)।