बबरमहल दुर्घटनाबाट ज्यान गुमाएकाको मोबाइल र नगद चोरियो

कात्तिक १९,काठमाडौं- कति निर्दयी बन्दै छ नेपाली समाज ! तीन साताअघि बबरमहलमा भएको दुर्घटनामा तीनजनाले ज्यान गुमाए । तर, कतिपयलाई त्यही दुर्घटना पैसा कमाउने माध्यम बन्यो । दुर्घटनामा मृत्यु भएका तीनजनाको नगद, मोबाइल र सुन घटनास्थलबाटै चोरी भयो । दुर्घटनाको रमिता हेर्न जम्मा भएको भीडबाट कसैले चोरी गर्यो । मृतकका आफन्तले छानबिनका लागि प्रहरीलाई आग्रह गरेका छन् ।

गत २७ असोजमा बनेपाबाट आइरहेको बा १ ख ८७७६ नम्बरको बस एक्कासी पल्टेपछि त्यसमा मोटरसाइकल ठोक्किदँदा महोत्तरी बर्दिबासका तिलक गौतम र उनका भाइ रुद्र थौतम तथा बाराका तेजामुन आलमको मृत्यु भएको थियो ।

घटनास्थलबाटै उनीहरुको धनमाल चोरी भएको हो । मृतकका काका देवेन्द्र गौतमका अनुसार तिलकका साथमा ३२ हजार नगद, एउटा मोबाइल , श्रीमतीको सिक्री, औंठी र टपसमेत रहेकोमा रित्तो पर्स मात्र फेला परेको छ । ‘मोटर साइकलको ब्लुबुकसमेत भेटिएको छैन्,’ उनले भने, ‘अनुसन्धानका लागि हामीले प्रहरीलाई आग्रह गरेका छौं ।’

 

त्यस्तै अर्का मृतक आलमको पनि घटनास्थलबाट मोबाइल चोरी भएकोमा आफन्तले अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएका छन् । उनको पैसा भने घटनास्थलमै भेटिएको थियो । नजिकै भएकाले प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो । तर पनि प्रहरीले सर्तकता नअपनाउँदा जम्मा भएकामध्ये कसैले मोबाइल तथा धनमाल चोरी गर्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।