विद्रोह गर्ने प्रचण्डको धम्की

कात्तिक १९, पाँचथर-एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ विद्रोहको वेला आएको बताएका छन् । सत्तारुढ दल कांग्रेस–एमाले संघीय गणतन्त्रविरुद्ध लागेकाले विद्रोहका लागि तयार रहन पनि प्रचण्डले आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले सहमतिमा संविधान निर्माणका लागि दबाब दिन मंगलबार फिदिममा गरेको सभामा प्रचण्डले कांग्रेस–एमालेको सात प्रदेशसहितको संयुक्त प्रस्ताव संघीयताविरोधी भएको आरोप लगाएका हुन् । ‘हामी विस्तृत शान्ति–सम्झौतामार्फत नयाँ नेपालको संविधान निर्माणका लागि संविधानसभामा सहभागी भएका हौँ । यसरी योजनाबद्ध तवरले कांग्रेस–एमाले संघीय गणतन्त्रविरुद्ध जान्छन् भन्ने लागेको थिएन ।

उनीहरूले संवाद समितिको बैठकमा जुन एजेन्डा ल्याए, त्यसले उनीहरू संविधान निर्माण र गणतन्त्रको पक्षमा छैनन् भन्ने पुष्टि भएको छ,’ प्रचण्डले भने, ‘अब नयाँ विद्रोहको उद्घोष गर्ने वेला आएको छ । सबै तयार रहनुहोस् । हाम्रो अभियान पूर्वमा लिम्बुवानसँगै खम्बुवान, थरुहट, ताम्सालिङलगायतका सबै शक्तिलाई अन्तिम लडाइँका लागि तयारी अवस्थामा रहन आग्रह हो ।’

कांग्रेस–एमालेको संघीयतामा सात प्रदेशसहितको साझा प्रस्ताव गधालाई सिँगारेर मान्छे बनाएको जस्तै भएको प्रचण्डले व्यांग्य गरे । ‘१४ अञ्चललाई नै सात प्रदेशको नामकरण गरिएको हो,’ प्रचण्डले भने, ‘गधालाई सिँगारेर पेटमा मानिस लेख्दा त्यो मानिस बनेजस्तो मात्रै भएको हो कांग्रेस–एमालेको सात प्रदेशको खाका । यसबाट उनीहरूले ८ माघभित्र संविधान दिन नचाहेको कुरा प्रस्ट देखिन्छ ।’

सत्तारुढ दलको प्रस्तावले विगतका सहमति र सम्झौता उल्लंघन गरेको पनि प्रचण्डले बताए । कांग्रेस–एमालेको प्रस्तावले उनीहरूलाई राजानीतिक र संवैधानिक रूपमा राज्य सञ्चालनको अधिकार पनि नभएको उनको भनाइ छ ।

‘विस्तृत शान्ति सम्झौतामा कतै पनि देश संघीयतामा नजाने भन्ने विषय उल्लेख भएको छैन, तर उनीहरूले संघीयताविनै संविधान जारी गर्ने षड्यन्त्र गरेका छन् । त्यही भएर सरकारमा रहनुको संवैधानिक अधिकार पनि छैन,’ प्रचण्डले भने, ‘कान नसुन्ने र आँखा नदेख्नेहरूले राज्य सञ्चालन गर्न सक्दैनन् ।’

स्व। गिरिजाप्रसाद कोइरालासँगको सम्झौतालाई कांग्रेस–एमालेले लत्याएको पनि प्रचण्डको भनाइ छ । उनले भने, ‘तात्कालीन परिस्थितिमा गिरिजाप्रसाद कोइरालासँगको छलफलपछि बनेको नयाँ नेपालको मार्ग कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले बिर्सिएका छन् । सबैखाले सम्झौता तोडेका छन् ।’