सुन १६ महिनाकै सस्तो

कात्तिक  १८, काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य १६ महिना यताकै सस्तो भएको छ। शुक्रबार ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ५ सय घटेर ५० हजारमा झरेको हो। यो मूल्य १६ महिना यताकै सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो भन्दाअघि २०७० असार २६ गते सुनको मूल्य ४९ हजार तीन सय तीन रुपैयाँमा झरेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य घटेकाले यसको प्रभाव नेपाली बजारमा परेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। त्यस्तै पेट्रोल डिजेलको मूल्य घट्नुले पनि सुनको मूल्य घटेको उनले बताए। अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रति औंस ११ सय ७४ डलरमा कारोबार भइरहेको छ। शुक्रबार प्रति औंस ११ सय ८५ डलरमा कारोबार भएको थियो।
अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम सुरु भएको शाक्यले बताए। त्यस्तै अमेरिकी संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई कटौती गरेपछि यसले अमेरिकी अर्थतन्त्र बलियो भएको देखिएको छ भने डलर अझ मजुबत रही आगामी सन् २०१५ देखि बैंक ब्याजदर बढ्ने संकेत देखिएको उनको भनाई छ। सेयर मार्केट पनि बलियो हुँदै गएकाले अहिले लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएको उनको अनुभव छ। ‘यही अवस्था रहने हो भने नेपाली बजारमा सुनको मूल्य अझ ओरालो लाग्न सक्छ,’ उनले भने।
छापावाल सुनको मूल्य गत वर्ष ६३ हजार ९ सय सम्म पुगेको थियो। त्यसपछी गत साउन २९ गते नेपाली बजारमा छापावाल सुन प्रति तोला ५४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत वैशाख २ गते सुनको मूल्य ५४ हजार ६ सय रुपैंयासम्म पुगेको थियो। दसैं नजिकिँदै गर्दा छापावाल सुनको मूल्य प्रतितोला ५२ हजारदेखि ५१ हजार ६ सय बिचमा रहेको थियो। असारको तेस्रो सातादेखि ५३ हजार रुपैयाँको आसपासमा सुनको मूल्य रहेपनि असोजको शुरुवातदेखि नै मूल्यमा गिरावट आउन थालेको महासंघले जनाएको छ । गत वर्ष फागुनमा तोलाको ५६ हजार ६ सय रुपैंया सम्म पुगेको बहुमुल्य पहेलो धातु सुनको मूल्य त्यसपछि विस्तारै ओरालो लाग्न थालेको थियो। साउनमा औसतमा प्रति तोला ५३ हजार पाँच सय रुपैयाँमा बिक्री भएको सुनको मूल्य साउनको अन्तिमा साता उच्च विन्दुमा पुगेको थियो भने अहिले यो १६ महिना यताकै न्यून विन्दुमा पुगेको हो।
सुनको मूल्य कम हुँदा पनि व्यापार भने नभएको व्यवसायी बताउँछन्। अहिले विवाहको सिजन नभएको र चाडवाड पनि सकिएका कारण मूल्य घटेपनि व्यापार ठप्प रहेको उनीहरुले बताए। ‘उपभोक्ताहरु अझै मूल्य घट्छ कि भनेर कुरेर बसेका छन्,’ शाक्यले भने। मूल्य उतारचढाव र गिरावट आए पनि गत वर्ष देखि नै व्यापार ओराले लाग्न थालेको उनले बताए। तर लक्ष्मी पुजाको अघिल्लो दिन भने सुनचाँदीको व्यापार राम्रो भएको थियो। ‘धन्तेरसका दिन भने देशभर करिब १० करोड बराबरको सुन र १ करोड बराबरको चाँदी बिक्री भएको थियो। महासंघका अनुसार मंगलबार मात्रै देशभरबाट २० किलो सुन र दुई सय किलो भन्दा बढी चाँदी बिक्री भएको थियो। ‘सुनमा त अझै सन्तुष्ट छैनौं, चाँदीको भने राम्रो व्यापार भयो,’ शाक्यले भने। उपभोक्ताले विशेषगरी चाँदीको सिक्का, औंठी, खरिद गरेको शाक्यले बताए।
शुक्रबार चार वर्ष यताकै सस्तो भएको चाँदीको मूल्य आइतबार फेरी घटेर ६ सय ९० प्रतितोला पुगेको छ। यो चार वर्ष यताकै सस्तो भएको महासंघले जनाएको छ। आइतबार प्रतितोला ६ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। गत वैशाख महिनामा चाँदी प्रतितोला ८ सय १५ देखि ७ सय ८५ रुपैयाँको बिचमा रहेको थियो त्यसपछि जेठ महिनाभर ७ सय ९० देखि ७ सय ७८ को बीचमा कायम रह्यो। ७ सय ८० रुपैयाँको बिचमा रहेको मूल्य असारमा फेरी बढेर प्रतितोला ८ सय १५ सम्म पुगेको थियो। साउन र भदौमा ८ सय १० सम्म रहेको भदौको दोस्रो सातादेखि घट्न थालेको हो। असोज देखि मा ७ सय ७५ हुँदै ७ सय हुँदै आइतबार चाँदी चार वर्षकै सबै भन्दा कम विन्दुमा पुगेको हो। नेपालमा दैनिक एक सय किलो चाँदी खपत हुने गरेको महासंघले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।