नेपालको श्रीलंका भ्रमण : शरद नजाने, ज्ञानेन्द्रले पहिलो खेल गुमाउने

कात्तिक  १८, काठमाडौँ – प्रमुख ब्याट्सम्यान शरद भेषावकर नेपाली क्रिकेटको तीन हप्ते श्रीलंका भ्रमणमा नजाने भएका छन्। अस्वस्थता कारण शरद श्रीलंका नजाने भएको सोमबार प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले बताए।मलेसियामा बिहीबार सम्पन्न भएको विश्व क्रिकेट लिग डिभिजन ३ मा पनि शरदले ३ खेलमात्र खेल्न सकेका थिए। उनी सिंगापुरसँगको खेलमा रिटायर्ड हर्ट भएका थिए। उनले सो खेलमा २५ रन बनाउँदै शतक बनाएका ज्ञानेन्द्र मल्ललाई राम्रो साथ दिएका थिए।
‘शरदलाई आराम चाहिएको छ, ऊ राम्रोसँग सुत्न पनि सकिरहेको छैन, हामीले डिभिजन २ को पनि याद गर्नुपर्छ, नामिबिया भ्रमणका लागि उनी नेपाली टोलीका आवश्यक खेलाडी हुन्,’ दासानायकेले भने। नेपाल जनवरीमा डिभिजन २ खेल्न नामिबिया जाँदैछ।
डिभिजन ३ खेलेको अन्य १३ खेलाडी नै श्रीलंका भ्रमणमा जानेछन्। उपकप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेखले पहिलो खेल गुमाउने छन्। घरासायी कारण ज्ञानेन्द्र नोभेम्बर ९ मा मात्र श्रीलंका पुग्ने छ। श्रीलंका बोर्ड प्रेसिडेन्ट टोलीविरुद्ध नेपालको त्यही दिन तीनदिवसीय खेल सुरु हुनेछ।
युवा ब्याट्सम्यान आरिफ शेख बुधबार नेपालबाट एसिसी यु–१९ खेल्न कुबेत जानेछन्। प्रतियोगिता सकिएपछि उनी श्रीलंका भ्रमणमा समावेश हुने भएकाले आरिफले पहिलो खेल गुमाउने दासानायकेले बताए। १८ सदस्यीय नेपाली टोलीमा अनिल मण्डल, प्रदीप ऐरी, राजेश पुलामी, जितेन्द्र मुखिया र करण केसीलाई समावेश गरिएको प्रशिक्षक दासानायकेले बताए। नेपाली टोलीबाट करणको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ।
श्रीलंका क्रिकेटले मिलाएको आधिकारिक भ्रमणमा नेपालले श्रीलंकाको डेभलपमेन्ट टोलीसँग दुई तीनदिवसीय खेल खेल्नेछ भने हङकङसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र एक ५० ओभरको खेल खेल्नेछ। श्रीलंकामा खेलिने दुई अभ्यास खेलका लागि नेपालले आ-आफू मिलेर मंगलबार र बुधबार गरी एक दुई दिने अभ्यास खेल खेल्दै छ। नेपाली टोली बिहीबार श्रीलंका लाग्ने छ। नागरिक दैनिकमा खबर छ ।