ठूला दलले अडान नछाडे आन्दोलन : दाहाल

कात्तिक  १८, काठमाडौँ -पाँचथरको फिदिममा हुने विरोधसभामा भाग लिन सोमबार साँझ विराटनगर आइपुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र एमाओवादी नेता वर्षमान पुन। तस्बिर : चुमन बस्नेत
विराटनगर– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संघीयताका विषयमा ठूला दलहरूले अडान नछोडे आन्दोलन हुने चेतावनी दिएका छन्। उनले संघीयताको नाममा पाँच विकास क्षेत्रलाई सात विकास क्षेत्र बनाउन खोजिएको आरोप लगाए।
‘संघीयताको नाममा पाँच विकास क्षेत्रलाई सात र १४ अञ्चललाई सात अञ्चल बनाउन खोजिँदैछ,’ विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘विगतका सहमति र सम्झौता लत्याए जनताले त्यसको विरोध गर्छन्।’ उनले संघीयताको म्यान्डेटबाट कांग्रेस–एमाले पछि हटेको र धोखा दिन खोजेको बताए।
सहमति नगरी संघीयताको विषयमा प्रक्रियाबाट निर्णय गरे मान्य नहुने बताउँदै दाहालले त्यसपछि शान्तिपूर्ण आन्दोलनको थालनी हुने चेतावनी दिए। ‘टेरेन भने जनता कति छन्, त्यो देख्छन्,’ दाहालले भने, ‘मधेसी, आदिवासी जनजाति र संघीयता पक्षधरले अहिले ल्याउन खोजिएको संघीयताको ढाँचा मान्दैनन्।’
दाहालले कांग्रेस–एमालेले सात प्रदेशको प्रस्ताव ल्याएर आफ्नो नाडी छाम्न खोजेको बताउँदै भने, ‘एक–दुई दिन नाडी छाम्छन्, पछि सहमतिमै आउँछन्।’
मंगलबार पाँचथरको फिदिममा आयोजना हुने विरोधसभामा सहभागी हुन दाहालसँगै विराटनगर आएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संघीयताका विषयमा सहमतिमै टुंगो लाग्ने विश्वास व्यक्त गरे। ‘सहमत नहुनुको विकल्पै छैन,’ उनले भने, ‘ठूला दललाई घेरेर भए पनि सहमतिमा ल्याउँछौँ।’ आफूहरूको संघीयतासम्बन्धी प्रस्तावमा दलहरू सहमत हुने उनको दाबी थियो।नागरिक दैनिकमा खबर छ ।