हरिवोधनी एकादशी देशभर मनाइदै

कात्तिक १७, काठमाडौँ – आज हरिवोधनी एकादशी पर्व । हिन्दू धर्मावलम्बीहरूले आज भगवान बिष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी धुमधामका साथ मनाउँदै छन् ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज बिशेष रुपमा पूजागरी विवाह गरिदिने चलन रहेको छ । यस दिनलाई ठूलो एकादशी समेत भन्ने गरिन्छ ।

पुराणमा जनाइए अनुसार कात्तिक शुक्लपक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रहिआएको छ ।

यस दिन व्रतालुहरुले तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी आदि खानेकुराहरू खाने गर्दछन् । यस दिन मुलुकभरका विष्णुका मन्दिरहरूमा पूजा गर्ने भक्तालुहरुको बिहानैदेखि घुईंचो लागेको छ ।

यस पर्वको उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूमा मिडिया एनपीका तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्दछाैं ।