सवारी भाडाबृद्धि स्थगित

कार्तिक १५ ,काठमाडौं- सरकारले तत्कालका लागि सवारी साधनको भाडाबृद्धिलाई स्थगित गरेको छ । सरकारले कात्तिक १५ देखि मालबाहक र यात्रुबाहक दुवै प्रकृतिका सवारी साधनमा भाडा बढाउने निर्णय गरेको थियो । ‘अहिलेका लागि त्यो स्थगित भएको छ,’ यातायात व्यवस्था विभागका निर्देशक मुक्ति केसीले शुक्रबार कान्तिपुरलाई जानकारी दिए ।

इन्धनको मूल्य घटा सरकारको भाडा बढाउने निणर्यलाई लिएर सर्वसाधरण, राजनीतिक दलका नेता र स्वयंम सरकारकै तर्फबाट विरोध भएपछि स्थगित भएको हो । ‘हामीलाई मन्त्रालयले दिएको जानकारी अनुसार संसदीय समितिमा पनि विरोध भएर भाडा बृद्धि तत्कालका लागि स्थगित गर्नु भनिएको छ,’ निर्देशक केसीले भने । उनका अनुसार अब के गर्ने भन्ने बारेमा भाडाबृद्धिसँग सम्बद्ध सरोकारवाला निकायहरू यातायात व्यवसायी, उपभोत्ता, भौतिक योजना तथा यातायात मन्त्रालय र यातायात विभागको टोली बनाएर टुंगो लगाइने छ ।

भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौं १५ मै भाडा बढाउने सहमति भए पनि कात्तिक १५ देखि छोटा तथा लामो दुरीमा चल्ने सार्वजनिक यात्रुबहाक सवारीसाधनमा ५.६३ प्रतिशत बढाएको थियो । यस्तै, मालबहाकमा भने काठमाडौं-पोखरा-नारायणगढ क्ष्ाेत्रसम्ममा ५.२७ प्रतिशत र तराई क्षेत्रमा ५.२१ प्रतिशत भाडा वृद्धि गरेको हो । यस्तै, मिटर जडित ट्याक्सीको भाडामा ६.५८ प्रतिशतले वृद्धि गरिएको थियो ।

तर अर्कोतर्फ भने आयल निगमले असोज १३ बाट पेट्रोलियनमा स्वाचालित मुल्य प्रणाली लागु गरेपछि पेट्रोलियन पदार्थको मूल्य घटै पेट्रोलको मुल्य १ सय ३० रूपैंया ४७ पैसा, डिजेल र मटितेलको १ सय ३ रूपैंया १७ पैसा पुगेको छ ।

पेट्रोलको मूल्य घटेपछि पनि भाडा बढाएकोमा बिहीबार प्रधानमन्त्री शुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम सहित तीन दलका अन्य शीर्ष नेताहरूले पनि असन्तुष्ठी व्यक्त गरेका थियो । उपप्रधानमन्त्री बामदेव गौतमले त भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई फोन गरेर तत्काल भाडाबृद्धि रोक्न  निर्देशन दिएका थिए । एमाओवादीका नेता नारायणकाली श्रेष्ठले भाडावृद्धि रोक्न विभिन्न ठाँउमा आवाज उठाएका थिए । भाडाबृद्धिसँगै कात्तिक १५ पछि दैनिक उपभोग्य बस्तुहरू जस्तै, चालम, तरकारी, दाल आदिदेखि हरेक बस्तुको मूल्य बढ्नमा सर्वसाधरण चिन्तित थिए ।कान्तिपुर दैनिकमा खबर छ ।