क्रिकेटमा पछिल्ला पाँच वर्षमा पाँचै अन्तर्राष्ट्रिय उपाधि

कात्तिक १४, काठमाडौं-नेपालले सिनियर क्रिकेटमा पछिल्ला पाँच वर्षमा पाँचै अन्तर्राष्ट्रिय उपाधि जितेको छ।  अन्नपूर्ण पोस्ट समाचार लेख्छ नेपाली टोली सिनियर क्रिकेटमा एकपछि अर्को उपाधि जित्दै अन्तर्राष्ट्रिय खेलवृत्तमा फरक छवि बनाउन सफल भएको छ।
मलेसियामा बिहीबार सम्पन्न खेलमा युगान्डालाई ६२ रनले हराएर नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीनको उपाधि जोगाएको छ। सन् २०१० फेब्रुअरीमा नेपालले अमेरिकालाई हराएर डिभिजन पाँचको उपाधि जितेको थियो। त्यसअघि नेपालले अन्तर्राष्ट्रिय सिनियर प्रतियोगितामा एसीसी इमर्जिङ नेसन्स कपको मात्र उपाधि जितेको थियो। नेपाल, माल्दिभ्स र भुटानले खेलेको उक्त प्रतियोगिताको उपाधि नेपालले सन् २००३-०४ मा जितेको थियो।

सन् २००८ अघि नेपालले चारपटक एसीसी यू १९ एलिट कपको उपाधि जितेको थियो। सन् २०१० सम्म आइपुग्दा नेपालले एसीसी यू १५, यू १७, एलिट कपसहित यू १९ विश्वकपको प्लेट च्याम्पियनसिपको उपाधि पनि जितिसकेको थियो।

डिभिजन फाइभको उपाधिले सिनियर क्रिकेटमा नेपालको उपाधि खडेरीमात्र चिरेन, ठूला सफलताको सुरुआत भएको संकेत पनि दियो। नेपालले सन् २०१२ मा डिभिजन चार र सन् २०१३ मा डिभिजन तीनको उपाधि जित्यो।

सन् २०१२ मा एसीसीको तत्कालीन सबैभन्दा ठूलो सिनियर प्रतियोगिता एसीसी ट्रफीको उपाधि पनि जितेर नेपालले आफ्नो फरक परिचय स्थापित गरायो। नेपालले यो उपाधि जितेको पहिलोपटक थियो। डिभिजन फाइभ जितेलगत्तै सन् २०१० को मार्च(अप्रिलमा कुवेतमा भएको एसीसी ट्रफीमा नेपाल आठ वर्षपछि फाइनलमा पुगेको थियो।

नेपाल पछिल्लो पाँच वर्षमै एसीसी टीट्वेन्टी प्रतियोगितामा पहिलोपटक फाइनलमा पुग्यो। एसीसी प्रतियोगिता र विश्वस्तरको छनोटबाट अगाडि बढ्दै नेपालले अन्तत आईसीसी टीट्वेन्टी विश्वकपसमेत खेल्यो।

यसै वर्ष एसीसी यू १६ प्रिमियरको उपाधि जित्दै नेपाल एसीसीका सबै उमेरस्तर र सिनियर प्रतियोगिता जित्ने पहिलो टोली बनेको थियो। जुनियर टोलीले प्राप्त गरेको सफलता र सिनियर टोलीको प्रदर्शनले नेपाली पुरुष क्रिकेट अहिले सही ट्र्याकु मा देखिएको छ।