वैदेशिक रोजगारमा जानेको सुतेकै अवस्थामा मृत्यु

कात्तिक १४, काठमाडौँ-बाँकेको राधापुर-७ का ५० वर्षीय भद्रबहादुर शाहीको मंगलबार राति सुतेको अवस्था हृदयाघात भएर मृत्यु भएको खबर आएको छ। वैदेशिक रोगजारीका लागि कुवेत गएका पूर्वशिक्षक शाहीको मृत्युको खबरले परिवार र छरछिमेकीलाई स्तब्ध बनाएको छ।
बाबुसँगै रहेका भद्रबहादुरका छोरा भने एक महिनाअगाडि स्वदेश फर्किएका थिए। छोरा पनि बाबुसँगै कुवेतमा थिए। शाहीको मात्र होइन वैदेशिक रोजगारको लागि गएकामध्ये अधिकांशको सुतेको अवस्थामा मृत्यु भएको खबर आउने गरेको छ।
‘अधिकांश सुतेकै अवस्थामा मृत्यु भएको खबर आउँछ’, मृतक भद्रबहादुरका छिमेकी रमेश थापा भन्छन्, ‘वैदेशिक रोजगारका लागि गएकाहरूको राति सुतेको अवस्थामा हृदयाधात भएर मर्‍यो भन्ने खबर आउने गरेको सुनेको छु।’ गत २०७० साल पुस १२ गते रमेशको सालाको सुतेकै अवस्थामा मृत्यु भएको खबर आएको थियो।
साउदी अरबमा वैदेशिक रोजगारका लागि गएका रमेशका साला बाँकेको रझेनाको चौधरिया गाउँका २७ वर्षीय कमल थापाको पनि सुतेको अवस्थामा मृत्युको खबर परिवारले पाएका थिए। ‘बेलुका ९ बजे खाना खाएर सुतेको थियो, भोलिपल्ट डिउटीको लागि उठाउँदा नउठेपछि मरिसकेको रहेछ भन्ने सूचना हामीले पायौं’, रमेशले भने, ‘त्यही दिन घरमा सबैलाई उसले फोन गरेको थियो। कमलको ४२ दिनपछि लास नेपाल आएको थियो।

अहिले भद्रबहादुरको लासको पर्खाइमा उनको परिवार रहेको छ।’ सात वर्षअगाडि साउदी अरब वैदेशिक रोजगारका लागि गएका राधापुर- ७ का वर्षीय हस्तबहादुर रानाको सुतेकै अवस्थामा मृत्यु भएको खबर आएको थियो।

सुरक्षित वैदेशिक रोजगारको लागि नि:शुल्क परामर्श दिंदै आएको एसिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च बाँकेका अध्यक्ष आईपी खरेलले वैदेशिक रोजगारको लागि जानेहरू यसरी धामधाम सुतेको अवस्थामा मृत्यु भइरहेको घटनालाई नेपाल सरकारले गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने बताए। अन्नपुर्णपोष्टमा खबर छ ।

उनले नेपाल सरकारकै कमजोरीको कारण जनताका छोराछोरी यसरी अकालमा मरिरहेको उनले बताए। ‘जसले देशको अर्थतन्त्रलाई थामिरहेका छन् उनीहरू यसरी अकालमै, अल्पआयुमै मृत्यु हुनु अत्यन्त दु: खत कुरा हो। यसमा राज्यले अनुसन्धान गर्नैपर्छ’, मञ्चका अध्यक्ष खरेलले भने।