पर्यटन बोर्डका प्रमुख निरौला निलम्बित

कात्तिक १३, काठमाडौ-करोडौं रुपैयाँ भ्रष्टाचारको अभियोग लागेका नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौला निलम्बनमा परेका छन ।
नेपाल पर्यटन बोर्डको संचालक समितिको विहिवार बसेको संचालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृत निरौलालाई निलम्बन गरेको हो ।

लेखा समितिले बोर्डको करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै एक साताअघि निरौलालाई बोर्डको निर्देशकको पदबाट समेत निलम्बन गर्न र निरौलामाथि अकुत सम्पति आर्जन गरे÷नगरेको बारेमा छानविन गर्न निर्देशन दिएको थियो ।

बोर्डमा १५ वर्षअघि निर्देशकको रुपमा जागिर सुरु गरेका निरौला २०७० सालको असार ३१ गते कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएको थियो । कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि निरौलाले मन्त्री र सचिवलाई प्रभावमा पारेर आर्थिक विनियमावली परिमार्जन गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको लेखा समितिको भनाइ छ ।

 

१ करोड २० लाख रुपैयाँ तिर्नुपर्ने संस्थालाई ७ करोड ४० लाख रुपैयाँ दिने निर्णय गराएको, कमिशन लिएर १३ करोडको विज्ञापन दिएको, कानुनी परामर्श शिर्षकमा ६ लाख बजेट रहेकामा ३६ लाख ८३ हजार रुपैयाँ भुक्तानी दिएको, आफ्नी छोरी संलग्न म्यागेजिनलाई मासिक १ लाख रुपैयाँका दरले १२ लाख रुपैयाँ दिएको लगायतका दर्जनौं प्रमाणका आधारमा लेखा समितिले निरौलालाई भ्रष्टाचारी ठहर गरेको हो ।