मुगुबासीको बिलौना : कि खान देऊ, कि विष देऊ

कात्तिक १४, मुगु-नेपालकै सबैभन्दा ठूलो रारा तालको किनारमा जलवायु परिर्तन सम्बन्धी राष्टिय सम्मेलनको उद्घाटन चलिरहँदा सम्मेलनस्थल बाहिर ४५ वर्षीय हैजाली रोकाया धानको बोट बोकेर चिच्याइरहेकी थिइन् ।खत्याड भेगबाट दुई दिन लगाएर रारा आइपुगेकी हैजालीसँंगै करिव दुईसय मुगाली आँंखाभरी आसु बोकेर रारा किनारको चिसोमा बाँंच्ने सहारा खोजिरहेका थिए ।
‘कि विष देउ, कि त राहत देऊ’ साना नानी बोकेका मुगाली चिच्याउन थालेपछि सम्मेलनका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका  डा. गोविन्द पोखरेल, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल, कर्णालीका सभासद् तथा स्थानीय दलका नेता बाहिर निस्किए ।
जलवायु परिवर्तनका कारण मौसममा आएको फेरबदलको चर्चा गर्न आयोजित सम्मेलनस्थलमै असिनाले झारेको धानको बोटसहित सर्वसाधारण उपस्थित हुँदा सहभागी सबै स्तब्ध भए । हिमाली भेगमा हिउँ तथा पानी पर्ने क्रममा परिवर्तन भइरहेको तथ्य प्रस्तुत गरिनसक्दै त्यस्तै मौसमका भुत्तभोगीको उपस्थितीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्मा भावुक बने । ‘जलवायु परिवर्तनले थाहै नपाई आममानिसको जीवनमा असर पारिरहेको छ’, शर्माले भने ।
भाइटिकाका दिन खत्याडक्षेत्रका श्रीकोट, सेरी, गम्था, कोटडाँंडा तथा श्रीनगर र कार्कीवाडामा पाकेको धान, भटमास, सिमी, मकै, कोदोलगायतका तरकारी बाली असिनाले नष्ट गरिदिएको थियो ।
‘यहाँं देशका ठूला मान्छे आएका रहेछन्, था पाइकन आया हउ’ हातमा पराल बोकेकी जैकला टमटाले आँंसु झार्दै भनिन् । जैकला आफना छोराछोरीलाई खुवाउन घरमा केही अन्न नभएपछि सरकारले दिने आशमा दुई दिन भोकभोकै हिँडेर आएको सुनाइन् ।
असिनको मारमा परेका दुईसय घरका एकजनाका दरले रारा आएका उनीहरुले स्थानीय जिल्लाका सभासद्लाई आफूहरुलाई खाने अन्न दिन तथा अन्न दिन नसके विष दिन बारम्बार आग्रह गरेका थिए । स्थानीयबासिन्दाले १५ करोड रुपैयाँ क्षति भएको बताएका छन् ।
स्थानीय प्रशासन तथा कृषि कार्यालयले पनि अझै विवरण संकलन गरिसकेको छैन । यो क्षेत्र मुगुको अन्न भण्डार मानिन्छ । मुगुको खत्याड क्षेत्रमा उत्पादित अन्नले आठ महिना खान पुग्छ भने अन्य क्षेत्रमा उत्पादित अन्नले छ महिनाभन्दा बढी पुग्दैन । ‘अब अन्न नै छैन, अब कसरी परिवार पाल्ने, अहिलेदेखि नै भोकमरी लागिसक्यो,’ हिरा टमटाले भने ।
स्थानीय बासिन्दाले दिनभरी जिल्लाका सभासद्लाई घेरिरहे । उनीहरुले आफुसँंग खाने कुनै पनि विकल्प नै नभएको बताउँदै आत्महत्याको विकल्प नभएको दोहोर्याइरहे । उनीहरुको माग सुन्न आएका उपाध्यक्ष डा. पोखरेलले स्थानीय प्रशासनले क्षतिको विवरण पठाएलगत्तै तत्काल क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रतिबद्धता गरिरहँदा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, कर्णालीका सभासद् मोहन बानियाँ, जीवनबहादुर शाही, गोमा कुँंवर तथा मुगुका प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद रेग्मी, स्थानीय विकास अधिकारी नारायण प्रसाद रिसाल उपस्थित थिए ।उनीहरु साँंझ अबेरसम्म पनि स्थानीय सभासद् तथा सरकारका प्रतिनिधीले क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्नुपर्ने माग राखेर घेराउ गरिरहेका थिए । रारा किनारमा चिसोको प्रवाह नगरी चौरमा सुतेका थिए । अन्नपुर्णपोष्टमा खबर छ ।