निलोफरले नेपालमा खासै असर नपार्ने

  • प्रकाशित मिति : बिहीबार, कार्तिक १३, २०७१ साँझ २ : ५९
निलोफरले नेपालमा खासै असर नपार्ने

काठमाडौं, १३ कात्तिक (ओएनएस) : अरेबियन सागरबाट भारत र पाकिस्तानतिर पसेको नीलोफर समुद्री आँधीले नेपालमा खासै असर नपार्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

निलोफर हुदहुदजस्तै शक्तिशाली भएपनि यसको प्रभाव नेपालमा कम हुने विभागले जानकारी दिएको छ ।

आगामी ७ दिनसम्म नीलोफरको प्रभाव नेपालमा नपर्ने मौसमविदहरुको अनुमान छ । आँधीको गति अनुमान गरिएभन्दा बढी तीव्र भयो र त्यसको दिशा परिवर्तन भएमा मात्रै नेपालमा असर पर्ने सम्भावना रहने बताएको छ ।

नेपाली भूमिदेखि करीब २ हजार किलोमिटर टाढाबाट उद्भव भएको नीलोफरसँग डराउनु नपर्ने मौसमविद्हरू बताउँछन् ।  पश्चिमी वायुको गति कम हुने, ज्यादै लामो दूरी र सम्भावित रूट नेपालसम्म नआइपुग्ने देखिएकाले नीलोफरको प्रभाव नपर्ने मौसम विभागले जानकारी दिएको छ ।

१ सय ३० माइल प्रतिघण्टाको बेगमा आइरहेको समुद्री आँधी नीलोफर अरेबियन सागरबाट उत्पन्न भएका आँधीमध्ये हालसम्मकै तेस्रो शक्तिशाली हो ।

आँधीको प्रभाव भारतीय राजधानी नयाँ दिल्लीसम्म आइपुग्ने विभिन्न प्रक्षेपणले देखाएका छन् । मौसमविद्हरूले आँधीको प्रवाह दिल्ली र मुम्बईको बीचबाट पूर्वतर्फ लाग्न सक्ने बताएका छन् । त्यसो भएमा नेपालसम्म आँधीको प्रभाव नआइपुग्ने अनुमान मौसमविद्हरूको छ ।

अहिले सूर्य दक्षिणायन भएकाले पनि नीलोफरको प्रभाव नेपालमा आउने सम्भावनालाई कमजोर बनाएको मौसमविद्हरू बताउँछन् ।