डोको मुनी रात काट्न बाध्य अछामका महिलाहरु

कात्तिक १३, अछाम-पछिल्लो समय मुलुकमा महिला समानताका नारासँगै आधि आकाश मानिने महिला दिदी बैनीका अधिकारका कुरा गरीरहँदा अछामका महिलाहरु घाँस काटेने डोको मुनी रात काट्न बाध्य छन् । अछामका महिलाहरु महिनावारी भएका बेला डोकोमा बस्न बाध्य भएका छन् । छाउपडी गोठमुक्त घोषणा गर्ने समयमा सुरक्षित बासका लागि बनाइएका छाउगोठ भत्काएकाले उनीहरू डोकोमा बस्नुपर्ने बाध्यता  भएको हो । छाउगोठमुक्त भएका जिल्लाका २३ वटा गाविसमध्येमा अधिकांश गाविसका महिला महिनावारी भएका बेला घरनजिकैको खाली जमिनमा डोकोमुनि बस्न थालेका हुन् ।  घर सानो र महिनावारी भएको समयमा बास बस्नका लागि छुट्टै कोठाको व्यवस्था नभएकाले महिला घरनजिकैको जमिनमा डोकोमा पाल हालेर बस्न थालेको अधिकारकर्मीले जनाएका छन् । जिल्लाका हिच्मा, ढकारी, पायल, विनायक, कुइका, ढुङ्गाचाला, बलाता, रामारोशन, सेरा लगायतका गाविसका महिला महिनावारी भएको अवस्थामा  डोको र पालमा बस्दै आएका छन् । जिल्लामा छाउगोठमुक्तको अभियानका समयमा महिनावारी हँुदा दिदीबहिनी घरमा बसे पनि समाजमा रहेको धर्म, संस्कृति र सामाजिक संस्कारका कारण आत्मसम्मानका लागि पुनः बाहिर बस्न थालेको महिला अधिकारकर्मीको भनाइ  छ ।