श्रीलंकामा पहिरो, १० जनाको मृत्यु, २५० बेपत्ता

कात्तिक १३, काठमाडौँ – श्रीलंकामा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ। २५० जना बेपत्ता भएका छन्। मुसलधारे वर्षापछिको पहिरोले मध्य श्रीलंकाको बदुला जिल्लाका दर्जनभन्दा बढी गाउँलाई आफ्नो चपेटामा पारेको अधिकारीहरूले जनाएका छन्।
बदुला राजधानी कोलम्बोबाट दुई सय किलोमिटर टाढा छ। घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बिबिसीले जनाएको छ।विपद् व्यवस्थापक केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीका अनुसार अहिलेसम्म १० जनाको शव फेला परेको छ। उनले भने, ‘करिब २५० जना अझै हराइरहेका छन् र एक सय ४० घर ध्वस्त भएका छन्।’
यो सातामा श्रीलंकाको धेरैजसो भू–भागमा भारी वर्षा भएको थियो। वर्षालाई मध्यनजर गर्दै सरकारले पहिरो जाने चेतावनी दिएको थियो। नागरिक दैनिकमा खबर छ ।