दुई दिनमा सहमति नभए संविधानसभालाई ‘धर्मसंकट’

कात्तिक १३,काठमाडौँ-संविधानसभाले अन्तिमपटक भनेर संवैधानिक–राजनीतिक संवाद तथा सहमतिलाई उपलब्ध गराएको समय कात्तिक १५ भित्र संविधानका विवादित विषयमा सहमति हुने सम्भावना न्यून देखिएको छ। संवाद समिति प्रश्नावलीसमेत बनाउन नसक्ने अवस्थामा पुगेको छ। प्रमुख राजनीतिक दलका नेताहरूले बाँकी दुई दिनभित्र विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति गर्न नसके संविधानसभालाई थप अप्ठेरो पर्नेछ। फेरि संवाद समितिमै विवादित विषय पठाउने कि प्रक्रियामा लैजाने भन्ने अप्ठेरो संविधानसभालाई आइपर्नेछ। संविधानसभामा यसअघि संवाद समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिने सभासदहरूले कुनै पनि हालतमा थप समय दिन नहुने धारणा राख्दै आएका थिए। सोहीअनुसार संविधानसभाले संवाद समितिलाई सहमति जुटाउने, नभए प्रश्नावली बनाउन भन्दै अन्तिमपटक भनेर समय उपलब्ध गराएको थियो।
पछिल्लोपटक थपिएको समयमा संवाद समितिको औपचारिक बैठक एकपटक मात्र बसेको छ। तर, समिति सभापति बाबुराम भट्टराईले अनौपचारिक छलफललाई तीव्रता दिएका छन्। तर, सहमतिको सम्भावना कम देखिएको छ। प्रक्रियामा जान प्रश्नावली आवश्यक पर्ने भएकाले संविधानसभाले सहमति नभए प्रश्नावली भनेर समय उपलब्ध गराएको हो। प्रश्नावली बनाउन पनि सहमति आवश्यक पर्ने भन्दै प्रमुख विवादित विषय सहमतिबाटै टुंगो लगाउनुपर्ने संवाद समितिका सभापति बाबुराम भट्टराईले अडान राख्दै आएका छन्। ‘केही नेता संवाद समितिबाट विषयहरू बाहिर ल्याउन चाहन्छन्,’ संवाद समिति स्रोतले भन्यो, ‘त्यसैले प्रश्नावली बनाउन छुट्टै समिति भन्दै आएका छन्। यसले झनै जटिलता ल्याउँछ।’
संवाद समितिमा रहेका सदस्यहरूले प्रश्नावली बनाउने छुट्टै समितिको विरोध गरे त्यसले पनि प्रश्नावली बनाउन सक्दैन। त्यसैले अहिले बाँकी दुई दिनमा सहमति वा ‘संघीयताको विवाद अनुसूचीमा उल्लेख गरेर मस्यौदा बनाउने’ भनेर समितिमा आएको विकल्पमा जानु उत्तम हुने स्रोतको भनाइ छ। संविधानसभालाई पनि अप्ठेरो नपर्ने र सहमति कायम गर्न सहज हुने देखेर नै आफूहरूले संघीयताको विवाद अनुसूचीमा राखेर बाँकी विषयमा मस्यौदा गरी जनताकहाँ जाने विकल्प अघि सारेको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए। ‘संवाद समितिलाई समय नदिने हो भने विवादित विषय टुंगो लगाउन प्रक्रियामा संविधानसभा नै प्रवेश गर्नुपर्ने हुन्छ,’ कर्णले नागरिकसँग भने, ‘त्यो पनि अहिले सहज देखिँदैन।’
त्यसैले बीचको बाटोमार्फत निकास निकाल्नुको विकल्प नदेखिने कर्ण बताउँछन्। संवाद समितिको मंगलबार बसेको बैठकमा नेता कर्ण र कांग्रेसका युवा नेता गगन थापाले विवादित विषय संविधानको पहिलो मस्यौदामा जस्ताको त्यस्तै राखेर जनताकहाँ जाने र त्यो बीचमा सहमति निकाल्ने विकल्प सुझाएका थिए। ‘यसरी अघि बढ्यौं भने जनताको राय पनि बुझ्न पाइन्छ,’ कर्णले नागरिकसँग भने। संवाद समितिका सभापति भट्टराईले विभिन्न विकल्पबारे कांग्रेस र एमालेका नेतासँग निरन्तर छलफल जारी राखे पनि निकास निस्कन सकेको छैन। छलफलमा सहभागी एक नेताका अनुसार भट्टराईले संविधानसभाले समितिलाई छायामा पारेर जबर्जस्ती निर्णय गर्न खोजे समितिको नेतृत्वबाट राजीनामा दिने चेतावनीसमेत दिएका छन्।नागरिक दैनिकमा खबर छ ।