एमाओवादीले ‘१० प्रदेश’ नछाड्ने

कात्तिक १३,काठमाडौँ- एकीकृत नेकपा माओवादीले संविधानका अन्य विषयमा लचक भए पनि संघीयतामा १० प्रदेशको अडानबाट पछि नहट्ने निर्णय गरेको छ। माओवादी नेता देवेन्द्र पौडेलले बुधबार बसेको माओवादी स्थायी समिति बैठकमा संघीय प्रदेशको संख्या १० प्रदेश हुनुपर्ने अडान कायमै राखेर जाने निर्णय भएको जानकारी दिए।‘कम्तीमा पनि १० प्रदेशमा अडान राखेर जाने निष्कर्ष निकालेका छौं,’ पौडेलले  भने, ‘अरू दल लचिलो हुन तयार भए भने माओवादी पनि लचकताका लागि तयार हुनेछ, नत्र हुँदैन।’ उनले अन्य विषयमा लचिलो हुन सके पनि पहिचानसहितको संघीयताका सवालमा माओवादी लचिलो हुन सक्ने ठाउँ नरहेको बताए। नागरिक दैनिकमा खबर छ । पार्टीको आन्तरिक विवाद हल गर्नका लागि माओवादीले कात्तिक २३ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको सांगठनिक तथा वैचारिक विवाद हल गर्न उक्त बैठक बोलाइएको हो।