तीन दिनपछि मौसम सुधार, निलोफरको असर पश्चिममा मात्रै

कात्तिक १३, काठमाडौँ-वायुमण्डलमा विकास भएको पश्चिमी न्यूनचापीय क्षेत्रका कारण तीन दिनसम्म केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।
मनसुन सकिएपछि आएको मौसमी परिवर्तनले राम्रो हिउँदे वर्षा समेत गराउन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले बताए। ‘यो वायुले पूरै नेपाल ढाकेको छ, विभिन्न ठाउँ वर्षा र उच्च पहाडमा हिमपातसमेत हुन्छ,’ उनले भने।
मंगलबार साँझ सुरु भएको यो बदली कम्तीमा तीन दिनसम्म रहने महाशाखाले जनाएको छ। यस्तो परिवर्तनमा मध्याह्नसम्म घाम लाग्छ र मध्याह्नपछि बदली हुन्छ। मौसमविदहरूका अनुसार यसमा स्थानीय वायु मिसिँदा केही ठाउँमा औसतभन्दा बढी वर्षा हुन सक्छ।
 
निलोफरको असर पश्चिममा मात्रै
अरब सागरमा विकसित भएको सामुद्रिक आँधी ‘निलोफर’ ले पश्चिम नेपालमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात गराउने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। नयाँ आँधी खास गरी गुजरातको उत्तरी भाग र दक्षिण पाकिस्तान क्षेत्रमा केन्द्रित भएको छ। मौसमविदहरूले यो आँधीले आगामी शनिबारदेखि ती क्षेत्रमा वर्षा गराउनेछ।
‘निलोफर छेउछाउको बादलले नेपालको पश्चिमी क्षेत्र छुन्छ,’ मौसमविद प्रधानाङ्गले भने, ‘जसका कारण सुदूर र मध्यपश्चिममा वर्षा हुन सक्छ।’ पश्चिम नेपालमा वर्षा भए पनि हावाहुरी नआउने उनले जनाए। नागरिक दैनिकमा खबर छ ।