नेपालद्धारा मलेसीया ३६ रनले पराजित, समूह विजेता बन्दै नेपाल डिभिजन दुईमा बढुवा

कात्तिक १२ ,काठमाडौं-आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई ३६ रनले पराजित गरी आफु समुह बिजेता बन्दै डिभीजन टुमा बढुवा भएको  छ ।  वर्षाले खेल अवरूद्ध भएसँगै नेपाल  डिएल नियमका आधारमा ३६ रनले विजयी भएको हो।

पाँच खेलमा चारमा जित र एकमा हार बेहोरेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै डिभिजन टूमा उक्लिएको हो । मलेसियाले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर ८९ रन बनाउँदा खेल वर्षाले प्रभावित भएपछि खेलको निर्णय डकवर्थ लुइस नियमका आधारमा लिइएको थियो ।

क्वालालाम्पुरस्थित सेलेङ्गर ट्रफ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४३। ३ ओभरमा  सबै विकेट गुमाएर १४२ रन जोड्न सक्यो । मलेसियाका लागि अनुवार अरूद्धिनले सर्वाधिक ६९ रन, किजार हायातले २३  रन जोड्न सफल भए । त्यस्तै  नेपालका कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिएभने  भुवन कार्कीले तीन,शक्ति गौचनले दुई विकेट लिए। सागर पुनले १ विकेट लिए।