डलर सुविधा लिन समस्या

कात्तिक १०,काठमाडौं-अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दसैंको समयमा सिंगापुर भ्रमणमा जान लाग्दा नेपाल राष्ट्र बैंकले तोकेको परिणाममा वाणिज्य बैंकबाट डलर साट्न पाएनन्। राजधानीमा आयोजित एक कार्यक्रममा अर्थशास्त्री डा.प्याकुरेलले भने ‘राष्ट्र बैंकमा पाँच वर्ष सञ्चालक भएको व्यक्तिले पनि सहज रूपमा डलर साट्न पाउँदैन भने सामान्य व्यक्तिले कसरी पाउँछन्।’
आजको अन्नपूर्ण पोष्ट अगाडि लेख्छ- नेपाल राष्ट्र बैंकले विदेशमा विभिन्न प्रयोजनमा जानेले एक पटकमा २५ सय डलरसम्म साट्न पाउने व्यवस्था गरेको छ। तर, सर्वसाधारणलाई भने डलर साट्न निकै कठिन छ। ‘कानुनी रूपमा मेरो अमेरिकी डलरमा खोलेको खाता छ’, प्याकुरेलले आफ्नो समस्या सुनाउँदै भने, ‘मेरो खातामा डलर भएर पनि राष्ट्र बैंकले तोकेअनुसारकै डलर बैंकले दिन सकेन। राष्ट्र बैंकले मागअनुसार डलर उपलब्ध नगराएको कारण डलर दिन नसकिएको जवाफ बैंकका कर्मचारीले दिए।’
विभिन्‍न कामका लागि विदेश गइरहने अर्थशास्त्री डा.प्याकुरेल ट्राभल, डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा अगाडि नै छन्। ट्राभल र क्रेडिट कार्ड प्रयोग गर्न अनविज्ञ हुने सर्वसाधारणलाई भने तोकिएको परिणामको डलर नपाउँदा समस्या हुने गरेको छ। अमेरिकन एक्सप्रेसले ट्राभल चेक जारी गर्न छाडेपछि अहिले वाणिज्य बैंकले विभिन्न योजनासहितका ट्राभल कार्ड लिएर आएका छन्।