प्रधानमन्त्री कोइरालाले हेरे श्री ५ अम्बरेको देउसी

कात्तिक ६, काठमाडौँ-सधैँजसो राजनीतिक भेटघाट र वार्तामा सक्रिय हुने प्रधानमन्त्री शुशील कोइरालाले बिहिबार अपराह्न्न भने देउसी भैलोको स्वाद चाखे । कोइरालालाई देउसी भैलोको रमझममा तान्न सफल भएको थियो निर्देशक दिपा बस्नेत निर्देशित चलचित्र श्री ५ अम्बरेको युनीट ।  रिलीजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेको युनीटका करि दुई दर्जन बढी कलाकार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा करिब २० मिनेट देउसी भैलो खेलेको थियो ।

निर्देशक बस्नेतले प्रधानमन्त्री कोइरालालाई ‘श्री ५ अम्बरे’ हेर्न आग्रह  गरेसँगै प्रधानमन्त्री कोइरालाले मुसुमुसु मुस्कुराउँदै निर्देशक बस्नेतको हातमा खामबन्दी गरी   दक्षिणा थमाएका थिए । समाजमा आफुलाई राज ठान्ने व्यक्तिको कथा बोल्ने फिल्म ‘श्री ५ अम्बरे’ टिमले प्रधानमन्त्री निवासमा मात्रै होइन विभिन्न पार्टीका शिर्ष नेता तथा संघ संस्थाका प्रतिनिधिको निवासमा समेत देउसी भैलो खेल्ने कार्यक्रम तय गरेको छ ।

निर्माता जिवनसाथी बस्नेतले ‘श्री ५ अम्बरे’ टोलीको देउसी भैलो कार्यक्रम बारे भने, ‘रमाइलो सँगै फिल्मको प्रचार प्रसार पनि गर्रौं भनेर यो कार्यक्रम राखेको हौं । देउसी भैलो हाम्रो संस्कृतिको निरञ्तरता पनि हो ।’ आउँदो मंसिर ५ गते प्रदर्शन हुने फिल्म ‘श्री ५ अम्बरे’ मा सौगात मल्लको शिर्ष भूमिका छ ।
जिवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘श्री ५ अम्बरे’ मा सौगात सँगै केकी अधिकारी, प्रियंका कार्की लगायतको अभिनय छ । अभिमन्यू निरवीको लेखन रहेको ‘श्री ५ अम्बरे’ लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । ‘अन्तराल’ पछि दिपा बस्नेतको ‘श्री ५ अम्बरे’ दोश्रो निर्देशकिय फिल्म  हो ।