आज लक्ष्मीपूजा, घर आँगन सरसफाई गरी लक्ष्मी भित्र्याइदै

कात्तिक ६,काठमाडौँ-हिन्दु नोलीको दोश्रो महान पर्व  तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा  मनाइँदैछ । लक्ष्मी पुजालाई यमपञ्चकका नामले पनि चिनिन्नछ । घर आँगन र टोल सफासुग्घर गरी र घरआँगनमा  लिपपोत गरे लक्ष्मीले बास बस्ने मान्यताका आधारमा आजका दिन  बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने परम्परा रहीआएको  छ ।  आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली समेत गर्ने गरिन्छ । आजको रातलाई सुखरात्रि पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दान दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रही आएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रही आएको छ ।  आज साँझ युवती समूह बनाई घर घरमा भैलो खेल्छन् ।