अाइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ : युगान्डासँग निरन्तरताको लक्ष्य

कात्तिक ६,काठमाडौं-आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ बिहीबार मलेसियामा सुरु हुँदा नेपाल र युगान्डाले पुरानै भेटलाई निरन्तरता दिने छन् । नागरिक दैनिक लेख्छ यसबाहेक अमेरिका, मलेसिया, बर्मुडा र सिंगापुरको चुनौती पनि यी दुई टोलीसामू छ । गत वर्षको मे महिनामा पनि नेपाल र युगान्डा नै डिभिजन ३ को फाइनलमा पुग्दै एकदिवसीय विश्वकप छनोटमा परेका थिए । नेपालले बर्मुडामा समूह चरणमा युगान्डासँग पाएको ६ विकेटको पराजय बदला फाइनलमा ५ विकेटले लिएको थियो ।

तर जनवरीमा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नेपाल नवौं र युगान्डा दसौं भएपछि रेलिगेसनमा परेका थिए । १८ महिनाको अन्तरमा नेपाल र युगान्डा चौथोपल्ट एकअर्काविरुद्ध भिड्दै छन् । अमेरिका र बर्मुडा बिहीबारकै अर्को खेलका प्रतिस्पर्धा हुन् । पहिलो दिन घरेलु टोली मलेसियाले छिमेकी सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ ।
क्वालालम्पुरस्थित किनरारा एकेडेमीमा युगान्डासँग खेलेको भोलिपल्ट नेपालले बर्मुडासँग खेल्नेछ । पछिल्लो डिभिजन ३ को विजेता पनि रहेकाले नेपाल दाबेदार मानिए पनि कप्तान पारस खड्का मलेसियामा सबै टोली डिभिजन २ मा उक्लन प्रयासरत रहेकाले कसैलाई कमजोर आँक्न नहुने बताउँछन् ।

युगान्डा र बर्मुडासँगको पहिलो दुई खेलले नेपालको दाबेदारिता कुन स्थितिमा पुर्‍याउँछ भन्ने स्पष्ट हुनेछ । तर पारस र प्रशिक्षक पुबुदु दासानायके प्रत्येक खेलसँगै अगाडि बढ्ने बताउँछन् । प्रत्येक टोली अन्य राम्रो प्रदर्शन गर्न तयार भएर बसेका छन् । सबै राम्रो प्रदर्शन गर्न आतुर छन्, त्यसैले हामी एकपटकमा एउटै खेलप्रति केन्द्रित छौं, पारसले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको वेबसाइटसँग भने, ुहाम्रा लागि यो राम्रो अवसर हो । हामीले पछिल्लोपल्ट पनि डिभिजन ३ खेलेका थियौं, त्यसले यो उत्साहजनक चुनौती हो ।

नेपालले बर्मुडासँगको खेल सजिलै जित्ने अनुमान लगाइरहँदा पारसले भने, एउटा सामन्य पक्ष के भने हामीले राम्रो खेल्नुपर्छ । यहाँ धेरै राम्रा टोलीहरू छन् । क्रिकेटमा कसैलाई सजिलो लिनु हुँदैन । त्यसैले सबैले आफ्नो शक्ति लगाएर खेल्नुपर्छ । यदि हामीले आफ्नो शक्ति देखाउन सक्यौं भने नतिजा हाम्रो अगाडि सकारात्मक भएर आउँछ । २००७ को विश्वकप खेलिसकेको भए पनि बर्मुडाको प्रदर्शन त्यसयता खस्कँदो छ ।
नेपाललाई मलेसियाको मैदान दोस्रो घरेलु मैदानजस्तै हो ।

मे महिनामा मलेसियामा सम्पन्न एसिसी प्रिमियर लिगमा नेपालले विश्वकपमा छनोट भएको युएईलाई पराजित गरेको थियो । दुई वर्षअघि नेपालले डिभिजन ४ मा सबै खेल जित्दै उपाधि जितेको थियो । वसन्त रेग्मी २१ विकेट लिँदै म्यान अफ द सिरिजमा चुनिएका थिए । उनले विश्व क्रिकेट लिगको एकै प्रतियोगितामा सर्वाधिक लिने कीर्तिमान बनाएका थिए ।

अमेरिका, बर्मुडा र युगान्डाजस्ता राष्ट्र एसियाली भूमिमा खेल्न आउँदै छन्, जबकि यहाँको कन्डिसन हाम्रा लागि सुहाउँदो छ, नेपाली खेलाडीले एसियाली वातावरणको फाइदा उठाउनेमा दासानायके आशावादी छन् ।
डिभिजन ३ आइसिसीको प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहोदसीय कप र २०१९ को विश्वकपको छनोट प्रतियोगिता पनि हो

डिभिजन ३ का शीर्ष दुई टोली डिभिजन २ मा छनोट हुनेछन् । डिभिजन २ जनवरीमा नामिबियामा हुँदैछ, जहाँ नामिबियासहित, केन्या, नेदरल्यान्ड्स र क्यानडा डिभिजन ३ को शीर्ष दुई टोलीलाई पर्खेर बसिरहेका छन् । डिभिजन २ को फाइनलमा पुग्ने टोलीले २०१९ को एकदिवसीय विश्वकपको छनोट बाटो रहेको विश्व क्रिकेट लिग च्याम्पियसिपमा पनि खेल्न पाउनेछ ।