छोराले आमाको हत्या गरे

कात्तिक ५, रुकुम—रुकुमको पूर्वी महत गाविस–१ मा गएराति खुकुरी प्रहार गरी आफ्नै छोराले आमाको हत्या गरेका छन्। अठ्ठाइस वर्षीय छोरा धनप्रसाद बुढाले ५५ वर्षीया आमा सुनपुरा बुढाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
आमाको हत्या गरी फरार रहेका बुढाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए।
सामान्य घरायसी विवादमा आमाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। स्थानीयवासीका अनुसार फरार अभियुक्त एक मात्र छोरा हुन्। घटनास्थल जिल्ला सदरमुकाम खलङ्गादेखि २२ कोष उत्तर–पूर्वमा छ।