शिर्षदलको रिसोर्ट वार्ताले विषयवस्तुमै प्रवेश पाएन

कात्तिक ४, काठमाडौं अघिल्लो विघटित संविधानभा अधिकांश समय रिसोर्टमा बिताएका दलहरुले नयाँ संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै गोकर्ण रिसोर्टमा सुरु भएको आवासीय बैठक आजलाई विना निष्कर्ष समापन भएको छ । शीर्ष तीन दल कांग्रेस, एमाले र एमाओवादीका नेताहरू अन्तिम प्रयास भन्दै रिसोर्टतिर लागेका हुन् । तर, आज विषयवस्तुमै प्रवेश नभएको स्रोतले जनाएको छ ।

आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली बैठक छाडेर हातको उपचार गर्न तिर लागेकाले बैठक अलपत्र परेको माओवादीका नेताले आरोप लगाएका छन् । उनी ढिलो गरी रिसोर्ट पुग्दा बैठक विषयवस्तुमै प्रवेश नभइ नेताहरु लाखापाखा लागेका थिए । आजको बैठकले विश्वासको वातारण भने बनेको नेताहरुले जनाएका छन् । भोलिदेखि विषयवस्तुमा प्रवेश गर्ने एमाले नेता इश्वर पोखरेलले जानकारी दिए । बैठकका लागि अन्य शीर्ष नेता बिहान १० बजे नै गोकर्ण पुगे पनि एमाले अध्यक्ष ओली भने अपराह्न ३ बजे मात्रै पुगेका थिए ।

विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरुप तथा न्याय र निर्वाचन प्रणालीका विषयमा दलबीच पटक–पटक वार्ता र छलफल भए पनि सहमतिका लागि कुनै प्रगति नभएपछि निर्णायक भन्दै रिसोर्ट पुगेका हुन् । बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका अध्यक्ष ओली, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।