पिटिए सम्झौताले पुर्णता पायो

कात्तिक ४, काठमाडौँ-नेपाल र भारतबीच केही समयअघि सम्पन्न विद्युत् व्यापार सम्झौता पिटिएमा आज अन्तिम हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय ऊर्जा सचिव प्रदीपकुमार सिन्हाले उक्त सम्झौताको हस्ताक्षर गरेका हुन् । सो अवसरमा ऊर्जा मन्त्री राधाकुमारी ज्ञवाली र मुख्य सचिव लीलामणि पौडेल तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रायको पनि उपस्थिति रहेको थियो ।

दुई मुलुकबीच गत भदौ १९ गते उक्त सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । दुवै मुलुकको मन्त्रिपरिषद्को बैठकले केही समय पहिले पिटिएको मस्यौदालाई अनुमोदन गरिसकेको छ । पूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएसँगै आजैदेखि उक्त सम्झौता पूर्ण रुपमा कार्यान्वयनमा आउने छ ।

हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ऊर्जा सचिव क्षेत्रीले नेपालमा जारी ऊर्जा सङ्कट समाधान गर्न अब महत्वपूर्ण आधार तयार भएको बताए । सम्झौता कार्यान्वयनमा देखिएका जटिलता हटाउन दुवै मुलुकबीच ऊर्जा सचिव स्तरीय विशेष संयन्त्र गठन गरिएको र सहसचिव स्तरमा पनि कार्यदल गठन गरिएको उल्लेख गर्दै सचिव क्षेत्रीले सम्झौताले विद्युत् व्यापारका लागि मार्ग प्रशस्त गरेको बताए ।