बबरमहल दुर्घटनाको छानबिन समिती गठन

कात्तिक २, काठमाडौँ-सरकारले राजधानीको बबरमहलमा भएको गम्भीर बस दुर्घटना तथा चितवनको फिस्लिङमा भएको ट्रक र कार दुर्घटनाको छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा यातायात व्यवस्था विभागका निर्देशक इन्दुकुमारी थपलिया, सडक विभागका सिडिई विजय महतो, यातायात व्यवस्था विभागका मुख्य इन्जिनियर गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि, यातायात व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत सोमराज बराल (सदस्य सचिव) रहनु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात सचिवस्तरको निर्णयबाट गठित उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । बबरमहलमा असोज २७ र चितवनको फिस्लिङमा असोज २८ मा गाडी दुर्घटना भएको थियो । यसअघि सभासद्हरुले व्यवस्थापिका संसदको बैठकमा छानविन समिति बनाउन माग पनि गरेका थिए ।