एचएन्डबी बैंकले यसरी खाइदियो ग्राहकको पाँच करोड

कात्तिक २, काठमाडौं– राजधानीको झोंछेस्थित न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगोबाट खसेझैं भए जब एच एन्ड बी डेभलेप्मेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड गायब भएको थाहा पाए ।२०७० साल पुसको घटना हो यो।खातावालले स्टेटमेन्ट मागेपछि जुनसुकै बैंकले तुरुन्तै दिने गर्छन्। एचएन्डबी कुलेश्वर शाखा पुगेर खाताको वित्तिय विवरण (स्टेटमेन्ट)मागेका उनलाई बैंकले आलटाल गर्यो। दुईचारपटक धाउँदा पनि दिएन। उनी बाध्य भएर बैंकको कमलादीस्थित केन्द्रिय कार्यालय पुगे। त्यहाँ पनि कहिले अध्यक्ष छैनन् त कहिले सिइओ छैनन् भन्दै थप १५ दिन झुलाइयो।

‘स्टेटमेन्ट लिन अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किन चाहियो ?’ उनले आक्रोश पोखे। त्यसपछि बल्लतल्ल स्टेट्मेन्ट हात लाग्यो। ‘स्टेटमेन्ट हात परेपछि त म झन्डै बेहोस भए,’ अग्रवालले त्यतिबेलाको घटना सम्झदै भने,‘बैंकले बिना जानकारी मेरो खाताबाट २ करोड ७८ लाख रुपैयाँ झिकेको रहेछ।’
त्यतिमात्र होइन, यहीबीचमा उनले आफ्नो खातामा जम्मा गरेको २ करोड रूपैयाँ पनि थिएन। त्यसको भौचर भने उनीसँग सुरक्षित थियो।अग्रवालका अनुसार स्टेटमेन्टमा आफ्नै नामका चेकबाट २०६९ असोज २८ गते एकै दिन ९ पटक गरी २ करोड २८ लाख रूपैयाँ झिकिएको देखियो। त्यसपछि कात्तिक १७ मा दुईपटक छोरा प्रसान्तको नामबाट ५० लाख रूपैयाँ झिकिएको स्टेटमेन्ट देखियो।
‘हामीले २०६९ कात्तिक ३ गते एक करोड र कात्तिक २७ गते एक करोड रूपैयाँ जम्मा गरेका थियौं,’ अग्रवालले भने,‘बैंककले नगद बुझेर भौचर पनि दियो,पछि स्टेटमेन्ट हेर्दा त्यो दुई करोड खातामा जम्मा नै गरिएको देखिएन’ अग्रवालले भने ।आजको नागरिक दैनिकमा खबर छ ।