एन्फाबारे फिफामा उजुरी

कात्तिक २, काठमाडौँ -उपाध्यक्ष कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले अखिल नेपाल फुटबल संघ एन्फामा भइरहेको आर्थिक अनियमितताबिरूद्ध छानबिनका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको एथिक्स कमिटि प्रमुख काइकल गार्सिया समक्ष अनुरोध गरेका छन्।

रोयटर्सलाई उदृत गर्दै आजको कान्तिमा प्रकाशित समाचार अनुसार सार्वजनिक लेखा समितिले एन्फा अध्यक्ष गणेश थापालाई स्थगनको आदेश दिएयता यो उजुरी परेको हो।

रोयटर्सको समाचार अनुसार एसियाली फुटबल महासंघ एएफसीमा यस्तो उजुरी परेको यो दोस्रो पटक हो। पहिलो उजुरीमा फिफाले त्यसका पूर्वसदस्य मोहम्मद विन हमामसँग घूस लिएको आरोपमा मंगोलियाली फुटबल संघको अध्यक्ष गानबोल्ट बेनामेखलाई प्रतिबन्ध लगाएको थियो। महाम एसियाली फुटबल महासंघका पूर्व अध्यक्ष हुन्।

एन्फा अध्यक्ष थापा एएफसीका उपाध्यक्षसमेत हुन्। दुई उपाध्यक्षले दिएको उजुरीमा फीफामा महासचिव जेरेमी भाल्केलाई पनि बोधार्थ पठाइएको छ। उजुरीमा उनीहरूले फिफा र एएफसीले दिएको अनुदानमा अनियमितता भएको आरोप लगाएको छ। उजुरीमा भनिएको छ,’एन्फा अध्यक्ष थापाले फिफाको आचारसंहिता उल्लंघन गरेका हुनसक्ने हुँदा तत्काल छानबिनको लागि अनुरोध छ।’