मेरो घाम : अमर न्यौपाने

एकाबिहानै
फुलका पत्रहरुमा
शीतका थोपामाथी घाम देखेर
मेरी सानी बहिनीले भनिन्
दाई म ऊ त्यो घाम टिप्छु के
मैले हुन्छ जाउ टिप भनेउनि नजिक गईन
फुलको घाँटी च्याप्प समाइन्
र घाम टिप्न खोजिन्
तर फुल पो टिपियो
शीतका घामहरु भुइँमा खसे

उनले रुँदै भनिन्
दाई मेरो घाम त खस्यो

फुलका पत्रहरुमा शीतझैँ
उनका गालामा आँसुका
गोलागोला थोपाहरु

अलक्क तर अधैर्य भएर बस्न थाले
कलिलो मनलाई सम्झाउन
मैले उनलाई ऐना देखाउँदै भनेँ–
अब तिम्रो घाम तिम्रो गालामा उदाएको छ
नपत्याए हेर त

आफ्नो गालाको आँसुको
थोपामा घाम देखेर
खुशीले उनी फुलझैँ हाँसिन
उनि हाँस्ता
उनको गालाको घाम पनि खस्यो
तर मैले ऐना
उनको आँखा अगाडीबाट
हटाईसकेको थिएँ
उनि हाँसिरहिन् ।

(नेपाली कबिताको समकालीन स्वरबाट )