‘नाइँ नभन्नू ल २’लाई १२ नोमिनेसन

कात्तिक १, काठमाडौ–’नाइँ नभन्नू ल २’ जम्मा १२ विधामा मनोनयन हासिल गर्न सफल भएको छ। उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सहायक अभिनेत्री, कथा, पटकथा/सम्वाद तथा संगीतका सबै विधाका मनोनयनमा अटाएको छ। ‘नाइँ नभन्नू ल २’पछि ‘महसुस’ सर्वाधिक नौ विधामा मनोनयनमा परेको छ।
‘महसुस’ पनि उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री आदि विधामा मनोनयनमा परेको छ।गत वर्षको अर्को हिट फिल्म ‘६ एकान ६’ हास्य विधामा मात्र तीन विधामा मनोनित भई जम्मा गरी ६ विधामा मनोनयनमा पर्न सफल भएको छ। मनोनयन सार्वजनिक कार्यक्रममा नन्दिता केसी, प्रियंका कार्की, केकी अधिकारी, नरेशविर सिंह, जितु नेपाल,विल्सन बिक्रम राई आदि कलाकारले कमेडी तथा नृत्य प्रस्तुत गरेका थिए।
सार्वजनिक मनोनयन अनुसार उत्कृष्ट फिल्मका लागि ‘नाइँ नभन्नू ल २’, ‘६ एकान ६’, ‘महसुस’, ‘मोक्ष’ र ‘होस्टल’बीच भिडन्त हुनेछ भने उत्कृष्ट निर्देशकका लागि विकास आचार्य, दिनेश डिसी, नवल नेपाल, सविर श्रेष्ठ र सुरज सुब्बाबीच प्रतिस्पर्धा हुनेछ।
उत्कृष्ट अभिनेतामा आर्यन सिग्देल, सौगात मल्ल, यस कुमार र किशोर खतिवडा फुच्चे अभिनेता अनुभव रेग्मीसँग भिड्नेछन्। अभिनेत्रीमा भने नम्रता श्रेष्ठ, रेखा थापा, प्रियंका कार्की, नीता ढुङ्गाना र केकी अधिकारीले उत्कृष्टताका लागि प्रतिस्पर्धा गर्नेछन्।
इन्फाले नेपाल क्लब हङकङसँगको सहकार्यमा हङकङमा पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो। आउँदो वर्षदेखि अवार्ड कार्यक्रम अरु देशमा फैलँदै जाने आयोजकले जानकारी गराएको छ।हङकङको अवार्डमा सहभागी हुन शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, लगायतका ६० जना कलाकार हङकङ जानेछन्। अवार्डमा प्रियंका कार्की, नम्रता श्रेष्ठ आदि अभिनेत्रीको प्रस्तुति रहने कार्यक्रममा जानकारी गराइयो।हङकङको युङलङ थिएटरमा वितरण हुने अवार्डमा निर्माता तथा हल सञ्चालक उद्धव पौडेललाई पाँच लाख रुपैयाँ रहेको लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिनेछ। नागरिक दैनिकमा खबर छ ।