अफ्रिका कप फुटबल प्रतियोगिता सर्ने सम्भावना

असोज ३१, काठमाडौँ-अफ्रिका  कप अफ नेसन्स फुटबल प्रतियोगिता सर्ने सम्भावना बढेको छ । अफ्रिकामा बढ्दो इबोला भाइरसको त्रासका कारण प्रतियोगिता सर्ने सम्भावना बढेको हो । आयोजक राष्ट्र मोरक्कोले जनवरीमा हुने भनिएको प्रतियोगिता केही समय पछाडि सार्न अफ्रिकी फुटबल महासंघ सीएएफलाई पत्राचार गरेको छ ।

मोरक्कोले प्रतियोगिता नगर्ने आशय व्यक्त गरेपछि सीएएफले अन्य विकल्पको बारेमा खोजी थालेको छ । प्रतियोगिताको सम्भावित आयोजक टुंगो लगाउन सीएएफले दक्षिण अफ्रिका  र घानालाई पत्र लेखेको छ । मोरक्कोमा प्रतियोगिता हुन नसक्ने अवस्थामा यी दुई राष्ट्रमध्ये एकलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी दिन लागिएको हो । प्रतियोगिता मोरक्कोमा आगामी जनवरीमा हुने भनिएको थियो ।