आयोग विवादले मन्त्रिपरिषदमै कांग्रेस एमाले चर्काचर्की

असोज ३१,काठमाडौं-मन्त्रिपरिषदमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीच सुकुम्बासी समस्या समाधान आयोग र मातहतका जिल्ला समितिमा गरिएको नियुक्तिका बारेमा विवाद भएको छ । समितिमा एमालेले एकलौटी नियुक्ति गरेको उल्लेख गर्दै त्यसलाई आफ्नो दल कांग्रेसले स्वीकार्न नसक्ने भन्दै त्यसलाई विघटन वा पुनर्गठन गर्न प्रस्ताव राखेपछि दुई दलबीच गम्भीर विवाद भएको हो ।

प्रधानमन्त्रीले केन्द्रदेखि जिल्लासम्म एकलौटीरूपमा नियुक्ति गरिएको आयोग विघटन गर्नुपर्ने या कांग्रेस र एमालेबाट बराबरी पदाधिकारी रहने गरी पुनर्गठन गर्नुपर्ने प्रस्ताव राखेको जानकारी स्रोतले दिएका छन् । आजको कान्तिपुर दैनिक लेख्छ ।

स्रोतका अनुसार एमालेका मन्त्रीहरूले दुई दलबीचको सहमति र सरकारबाट जारी गठन आदेशअनुसार नै केन्द्रदेखि जिल्लासम्म पदाधिकारी नियुक्ति गरिएको भन्दै प्रतिवाद गरेपछि मन्त्रिपरिषदमा आधा घन्टाभन्दा बढी समय दुई दलबीच विवाद चर्किएको थियो ।