भूमिसम्बन्धी ऐन स्वीकृत

असोज ३०, काठमाडौँ-व्यवस्थापिका–संसदको आजको बैठकले ‘भूमिसम्बन्धी (छैठौँ संशोधन विधेयक, २०७१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई  स्वीकृत गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले सो प्रस्तावलाई बैठकमा पेस गरेका थिए । सो विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा चुडामणि विक, कुन्तीकुमारी शाही, अमृतकुमार बोहरा, दुर्गा पौडेल, नरसिंह चौधरी, बृजेशकुमार गुप्ता, बैजनाथ चौधरी, प्रेम सुवाल, नवराज शर्मा, हरिप्रसाद उप्रेती, परशुराम तामाङ, डिलबहादुर नेपाली, लक्ष्मीप्रसाद पोखरेललगायतले भाग लिई आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले भूमिसुधार गर्दा भूमिहीनको अवस्थालाई ध्यान दिन, भूमि अधिकारलाई नयाँ संविधानमा व्यवस्थित गर्न, भूमि सुधारका नाममा खण्डिकरण नगर्न, सार्वजनिक जग्गा खोजी गर्न, भू–उपयोग परिषद् गठन गर्न माग गरेका थिए । छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री रानाले हद बन्दीभन्दा बढी जग्गा हुनेको लगत लिन, उपयोगका आधारमा भूमि प्रयोग गर्न विधेयक ल्याइएको हो भन्नुभयो । उहाँले भू–उपयोग नीति कार्यान्वयन, जग्गाको वर्गीकरण गर्नेकाम पनि भइरहेको जानकारी दिए ।