माछापालन व्यबसाय फस्टाउदै

असोज ३०, सुनसरी-सुनसरीको कोसी प्रभावित क्षेत्रका स्थानीयवासी सिमसार क्षेत्रमा माछापालन गर्दै आत्मनिर्भर बन्न थालेका छन् । स्थानीयले सामूहिक रूपमा माछापालन थालेकाले आत्मनिर्भर बन्दै गएका हुन् । कोसी प्रभावित क्षेत्र प्रकाशपुर, मधुवन र पश्चिमकुशाहाका स्थानीयले बनाएको माछापालन समूह, उपसमूह र सहकारीको माध्यमबाट माछापालन गर्दै दैनिक रु तीन हजारदेखि रु पाँच हजारसम्म आम्दनी गर्ने गरेको स्थानीयले बताएका छन् । यी तीन गाविसमा २८३ परिवारका सदस्यले माछापालनबाटै राम्रो आयआर्जन गर्न सफल भएको माछापालक कृषक भीष्म अधिकारीले जानकारी दि । सुनसरीको सबैभन्दा बढी १६० हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको अधिकारीले बताए । स्थानीय रामसार मत्स्य सहकारी संस्थाको माध्यमबाट भुरा उत्पादनसमेत थालेकाले माछा उत्पादन बढेको उनीहरूले बताएका छन् । यहाँ वार्षिक रूपमा प्रतिहेक्टर तीन मेट्रिक टन माछा उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।