अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन पर्सिदेखि

असोज २९, काठमाडौँ-दोस्रो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन असोज ३१ र आगामी कात्तिक १ गतदेखिे काठमाडौँमा सुरु हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित अमेरिका, स्विडेन, बङ्गलादेश, बेलायत, पाकिस्तान र भारतका गरी २१ विज्ञले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । क्यान्सर केयर नेपालको नेतृत्वमा नेसनल क्यान्सर अस्पताल, वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट नेपाल, नेपाल अन्कोलोजिकल सोसाइटी, सुरेश वाग्ले मेमोरियल क्यान्सर आयोजना, युनिभर्सिटी अफ कन्सस र सेन्ट जोसेफ रेजिनल क्यान्सर सेन्टर एन्ड ब्लड इन्स्टिच्युटको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।     सम्मेलनमा ‘नेपालमा क्यान्सरको चुनौती’ लाई मुख्य रुपमा उठाइने क्यान्सर केयरका अध्यक्ष चिकित्सक मदनकुमार पियाले जानकारी दिनुभयो । उक्त सम्मेलनमा १५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालमा हाल करिब ५० हजारको सङ्ख्यामा क्यान्सर रोगी रहेको सरकारी तथ्याङ्क छ ।