३ केजी अबैध सुन सहित ४ जना पक्राउ

असोज २९ काभ्रे-प्रहरीले अबैध सुन सहित काभ्रेपलान्चोक जिल्लाबाट ४ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ । यस अभियोगमा महेन्द्र ज्योति–६ बस्ने ४२ बर्षीय हरिवोल कुँवर, ३२ बर्षीय धर्मराज कुँवर, महेन्द्रज्योति–५ बस्ने ३४ बर्षीय कमल भुजेल र ४२ बर्षीय भिम बहादुर कार्कीलाई प्रहरीले अवैध सुन सहित पक्राउ गरेको हो । यस घटनामा अन्दाजी ३ किलो सुन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हरिवोल कुँवरको घरमा चीनको खासाबाट अवैध रुपमा भंसार छली ल्याएको सुन लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीको एक टोलीले निजको घर तलासी गर्दा दराज भित्र काटेर राखेको अवस्थामा १२ वटा टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो ।

प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाएको जनाएको छ ।