सहमति हुन बाँकी विषयमा नयाँ शिराबाट छलफल सुरु

असोज २९, काठमाडौँ  मुख्य राजनीतिक दलबीच नयाँ संविधानमा रहने चार विषयलाई सहमतिमा ल्याउन नयाँ शिराबाट छलफल सुरु भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा दलबीच नयाँ संविधानमा उल्लेख गरिने मुख्य विवादित विषय राज्यको पुनःसंरचना, शासकीय स्वरुप तथा निर्वाचन र न्याय प्रणालीका विषयमा छलफल भएको हो । विगतमा समितिको बैठकमा ती विषयमा सहमति खोज्न असहमतिका बुँदाबाट छलफल भए पनि आज दलबीचमा न्यूनतम के सहमति हुन्छ भन्ने बुँदाबाट छलफल भएको समितिका सदस्य गगन थापाले जानकारी दिए । थापाका  अनुसार चार विषयमा दलबीच कुन बिन्दुमा सहमति हुने भन्ने विषयमा छलफल भएको थियो । सकेसम्म ती विषयमा सहमतिको प्रस्ताव तयार हुन्छ, यसो हुन नसके प्रक्रियागत रुपमा जान सहमति हुने थापाले बताए । बैठकमा ती मुख्य विषयमा दलगत धारणा राख्नु विडम्बनाको विषय भएको र संवाद समितिमा सहमति नजुटे ती चार विषयको छिनोफानो संविधानसभाले नै गर्न दिनुपर्ने थापाने बताए ।