पूर्वराजाले सर्वसाधारणलाई दसैंमा टिका नलगाउने

असोज १३, काठमाडौँ-मुलुकका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टिका नलगाउने भएका छन् । धपेडी हुने भन्दै डाक्टरहरुले आराम गर्न सुझाएपछि शाहले यस वर्ष टिका नलगाउने भएका हुन् ।  केही दिनअघि थापाथली स्थित नर्भिस अस्पतालमा हृदयघातको उपचार गराएका पूर्वराजा ज्ञानेन्द्रलाई डाक्टरहरुले आराम गर्न सुझाएका छन् । खानपिनमा पनि ख्याल गर्न उनलाई चिकित्सकहरुको सल्लाह छ ।

देशमा गणतन्त्र आए पनि पूर्वराजा ज्ञानेन्द्रले हरेक दसैंमा सर्वसाधारणलाई टिका लगाउँदै आएका थिए । स्रोतका अनुसार पूर्वराजा शक्तिपीठहरुमा पनि नजाने भएका छन् । यसअघिका दसैंमा उनी सप्तमी र अष्टमीका दिन काठमाडौंको शक्तिपीठहरुमा दर्शन गर्न जाने गर्थे भन्दै समाचारमा उल्लेख गरिएको छ ।