धौलागिरि ‘डान्स च्याम्पियन’ सुरु

बागलुङ—धौलागिरिमा अहिलेसम्मकै ठूलो खुला नृत्य प्रतियोगिता सुरु भएको छ। धौलागिरि अञ्चलका तीन जिल्ला बागलुङ, पर्वत र म्याग्दीलाई समेटेर आर्कषक पुरस्कार राशिको नुत्य प्रतियोगिता सुरु गरिएको हो । साइभिजन प्रालिद्वारा सञ्चालित गङ्गा विष्णु फिल्मस् एन्ड डान्स टे«ेनिङ सेन्टरले प्रतियोगिताको आयोजना गरेको हो। 
प्रतियोगताको प्रचारप्रसारका लागि यसै साता बागलुङ बजारमा जिल्लास्तरीय नृत्य प्रतियोगिता पनि सम्पन्न गरियो । कला, संस्कृतिको जगेर्ना गर्दै लुकेर रहेका प्रतिभाको पहिचान उजागर गर्न ‘धौलागिरि डान्स च्याम्पियन–२०७१’ सुरु गरिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार र प्रमाणपत्र, द्वितीयलाई रु २५ हजार र प्रमाणपत्र तथा तृतीय हुनेलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका निर्देशक दिलीप कँडेलले जानकारी दिए।प्रतियोगिताको पहिलो चरणमा बागलुङ, म्याग्दी र पर्वत जिल्लाका विभिन्न स्थानमा पुगी अडिसन लिने तयारी भएको छ । बागलुङ सदरमुकाम, गलकोट, खरबाङ र बुर्तिवाङ, म्याग्दीको बेनीबजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा अडिसन लिइनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीले बागलुङमा हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्ने निर्देशक कँडेलले बताए ।