तोकिएको समयमा संविधान– उपप्रधानमन्त्री सिंह

असोज ९, काठमाडौँ-उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी भइरहेको बताएका छन् । वडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नेपाली काँग्रेस निकट भ्रातृ सङ्गठन नेपाल दलित सङ्घद्वारा आज यहाँ आयोजित ‘शुभ–कामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सरकारको मुख्य उद्देश्य संविधान निर्माण भएको हँुदा त्यसलाई एक वर्षभित्र पूरा गर्नुपर्ने बताए । जतिसक्दो चाँडो जनताको चाहनाअनुरूपको लोकतान्त्रिक संविधान जारी गर्न सकियो त्यतिनै चाँडो राजनीतिक स्थिरता कायम हुँदै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने उनको विश्वास रहेको छ । काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दल तथा नेताहरूको पछिल्लो गतिविधिलाई हेर्दा एक वर्षभित्रै संविधान जारी हुने सम्भावना बढ्दै गएको हुँदा सकारात्मक भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।